२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

सडकमा सक्रिय हुँदै ट्राफिक प्रहरी

मंगलवार , भाद्र ३१, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, ३१ भदौ । जेन जी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा शुरु गरेका छन् ।

    आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरु बिनाबर्दी काममा फर्किएका थिए । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरु बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक प्रहरी बर्दीसहित देखिन थालेका छन् ।

    आन्दोलनका दिन काठमाडौंका अधिकांश प्रहरी कार्यालयहरु तोडफोड भएका थिए । भाद्र २३ को  प्रदर्शनमा प्रहरीले गोली चलाएका कारण १९ जनाको ज्यान गएको थियो । दोस्रो दिन आन्दोलनकारीले नेपाल प्रहरीलाई निशाना बनाइ प्रहरीमाथि कुटपिट, प्रहरी कार्यालयहरुमा आगजनी र तोडफोड गरे ।

    सुरक्षार्थ खटिएका प्रहरीमाथिको निर्घात कधुटपिट हुँदा तीन जना प्रहरी जवानले ज्यान समेत गुमाएका छन् । ट्राफिक प्रहरी पनि आन्दोलनको निशानामा परे ।  

    काठमाडौं उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी चाप तथा सडक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीको भुमिका महत्वपूर्ण हुन्छ । प्रहरी फेरि बर्दीमै फर्कनु, राज्य संयन्त्र पुनः स्थिर हुँदै गएको संकेतका रूपमा लिइएको छ ।

    ट्राफिक प्रहरीहरूको बर्दीसहित पुनरागमनले राजधानीको सडक सुरक्षातर्फको पहलमा आशा देखाएको छ । तर आन्दोलनले देखाएको सामाजिक असन्तोष, राज्यप्रतिको अविश्वास र हिंसात्मक प्रतिक्रिया अझै पूर्ण रूपमा साम्य भइसकेको छैन ।