
सन्दर्भ : सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना दिवस
बुधवार , आश्विन १, २०८२
नेपालको इतिहासमा बोलिने एउटा प्रचलन थियो–‘नेपाल भनेको काठमाडाैं’ । वि.सं. २०११ पछिसम्म पनि नेपाल जाने एक मुख्य मार्ग भैरहवा थियो । तत्कालिन समयमा यस भेगका यात्रुहरु, भारतको भू–भाग हुँदै नौतनवा, गोरखपुर, रक्सौलबाट वीरगंज भित्रिएर काठमाडौं अर्थात नेपाल जान्थे ।
जाने–आउने यात्रुका विश्रामका लागि वि.सं. २००६ सालमा सम्भवत नेपालको पहिलो लज पशुपति लज खुल्यो । कवि भूपि शेरचनका कवितामा भैरहवा तातो हावा थियो । भनिन्थ्यो उफ भैरहवा ।
हिमाली पहाडीका लागि जाडो छल्न आउने घमाइलो तराई थियो । आहा भनिन्थ्यो । पाल्पालीलाई अन्नबाली सञ्चय गर्ने भकारी थियो भैरहवा । भैरहवा क्रान्तिकारी डा.के.आई सिंहको आश्रयस्थल पनि थियो ।
व्यापारीका लागि पैठारी निकासीको बिन्दु थियो । नौतनवा, भैरहवा, बुटवल हुँदै पहाडी भेगमा खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्री आपूर्ति हुन्थ्यो ।
नेपालबाट घ्यू, धान, तोरी, जडीबुटी, काठ आदि इत्यादि निर्यात हुन्थ्यो । दिनभर लगाएर ट्रक लडिया ढुवानी बोकेर बुटवल पुग्थ्यो । बुटवलबाट पहाडतिर लम्किन्थ्यो भरियाको लस्कर । घ्यूसँग नुन साटिन्थ्यो । चाँदीका सिक्का चलाइन्थ्यो ।
वि.सं. २०११ सम्म पनि नेपाली रुपैयाँ प्रचलनमा थिएन । ब्रिटिश लाहुरेले भारु भित्र्याउँथे । पक्लिहवा ब्रिटिश क्याम्प भैरहवाको शान थियो ।
वि.सं. १९९० तिर व्यापारका लागि भैरहवामा भित्रिएका मारवाडी समुदाय अग्रवाल, बेरिवाल, मित्तल, गोयन्का, केडिया, बंशल, जैन, शर्मा साथै त्यस अघिको समय बनिया समुदायका गुप्ता, तेली, कान्दु, जयसवाल, कलवार साथै थकाली र सम्भवत नेवार समुदाय पनि लगायतका व्यापारीहरुले भैरहवाको व्यापार व्यवसायको जग बसाल्दै थिए, पुर्वबाट आएका सरकारी नापीका जागिरदार कर्ण मल्लिकहरु भैरहवामा हाते नक्सा कोर्दै थिए ।
रुपन्देहीको सदरमुकाम बेथरी थियो । पछि भैरहवा स्थान्तरण भयो । दुरसञ्चारसँगै रहेको गाउँ नै भैरहवा थियो । ६८ औं जनगणनाका अनुसार भैरहवा गाउँमा २७ घर थिए । वि.सं. १९६८ मा गणना सुरु भेक थियो त्यसैलाई स्थानीय भाषामा ६८ औं भनिन्थ्यो । भैरहवा गाउँका पुराना बासिन्दा मात्रिका यादव बताउँछन ।
भैरहवा अर्थात दानव र रोहिणीबीचको सभ्यता मर्चवार, बेथरी, चिल्हिया, ठुटीपीपल, कोटिहवा, केरवानी, धकधई हरेक क्षेत्रको परिचय दिन्थ्यो भैरहवाले । यी ठाउँका बासिन्दालाई घर कहाँ हो ? वा कहाँ जाने हो भन्ने प्रश्नको एकै उत्तर हुन्थ्यो भैरहवा ।
वि.सं. २००० तिर भैरहवाको मिलनचोकमा केही घरहरु थिए, बैंकरोडमा जंगल थियो । भीम अस्पताल, हुलाक पनि थिए । हालको जिल्ला प्रशासन (सिडिओ) कार्यालय बडा हाकिम राणाहरुको बासस्थान, मालटोलमा भन्सार कार्यालय र अड्डा अदालत, सेवा केही पसलहरु यस्तै थियो भैरहवा । बाश्प इन्जिनका गाडी चल्थ्यो । भैरहवा–बुटवल पुरा दिन जान्थ्यो ।
२००७ सालमा काठमाडौंमा नेपाल वाणिक मण्डल गठन भयो । भैरहवामा २०११ सालमा व्यापारीले एउटा संगठन स्थापना गरेका थिए भैरहवा व्यापार मण्डल ।
आज भैरहवा व्यापार मण्डल २०८२ असोज १ गते ७२ वर्षमा प्रवेश गर्दैछ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहको गर्विलो आर्थिक कथा कोरिएको छ । कथाभित्र मंगलसेन शर्मादेखि नेत्र प्रसाद आचार्यले नेतृत्व पात्रको भूमिका खेलेका छन् ।
स्थापनाकालका संस्थापक अध्यक्ष मंगलसेन शर्मा अन्य अध्यक्षहरु केशरदेव वेरिवाल, नथमल अग्रवाल, गिरधारीलाल मित्तल, कृष्णमान शेरचन, रुद्र विलाश तुलाचन, मथुरा प्रसाद बजिमयले भैरहवा व्यापार मण्डलको नेतृत्व लिए । पुरनमहल गोयन्का, प्यारेलाल अग्रवाल, श्रीनिवास अग्रवाल, गौरीशंकर अग्रवाल, सुरजलाल गुप्ता, भक्तिलाल बाटाजु लगायतका सदस्यहरुले संस्थापकको रुपमा साथ दिए ।
भारतबाट सामान आवातजावत हुन्थ्यो, बजार सुरक्षाका निम्ति नेपाल सरकारसँग सुरक्षा बल पर्याप्त थिएन । सुरक्षाको व्यवस्थापन आवश्यक थियो । घोडा गाडा, लडि़या, मानवीय भरिया, यातायातका साधन थिए । यसका व्यवस्थापन कम चुनौती थिएनन् । नेपाल र भारतका प्रहरी प्रशासन, कर, चुंगीकर भन्सारसँग समन्वयको आवश्यकता पर्दथ्यो । यिनै समस्याका सहजीकरणका लागि भैरहवा व्यापार मण्डलको स्थापना भयो ।
वि.सं. २०२९ अगाडिका दस्तावेज संघमा सुरक्षित नरहेकोले ठाकुर कुमार श्रेष्ठको गत कार्यकालको एक निर्णय अनुसार असोज १ गतेलाई स्थापना दिवस मानेको छ । २०८१ असोज १ गते पहिलो स्थापना दिवस मनाउने कार्य भयो ।
२०८२ असोज १ गते देश राष्ट्रिय शोकमा परेको छ । तसर्थ दुःखद घडीमा संघको स्थापना दिवसको खुशीयाली उत्सव पूर्वअध्यक्षहरु पदाधिकारीहरुको निर्णयबाट स्थापना दिवस स्थगन गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ एवं सम्पूर्ण उद्योगी–व्यवसायीलाई स्थापना दिवसको शुभकामना । आजको शोक दिवसमा जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्णलाई सम्मान र हार्दिक श्रदाञ्जली । शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।
[email protected]
(लेखक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सल्लाहकार हुनुहुन्छ ।)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij