
आइतवार , बैशाख ५, २०७८
बुटवल, ५ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चार धामका कलात्मक नमुना मन्दिर निर्माण गरिँदै छ । पुराणमा उल्लेख भए अनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपा निर्माण गर्न लागिएको हो ।
पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवी देवताका विग्रहरु स्थापित गरिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिए । उनका अनुनसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो ।
ती ६ वटा धाम निर्माणको लागि करिब १ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । त्यसरी निर्माण गर्न लागिएको ती धामहरुको यही वैशाखको ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । आयोजना निर्माण स्थल (मोक्षधाम) मा बद्रिनाथ, जगन्नाथ, रामेश्वरम, द्वारिका, रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपाको सन्त महन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यवसायी, उद्योगी तथा भक्तजनहरुबाट सामूहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिए ।
त्यसै गरी निर्माणसम्पन्न मुक्तिनाथ मन्दिर, १ हजार १०८ शिवलिंग द्वादश ज्योतिर्लिङगसहित विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्संग कक्ष) भवन, वृद्धा तथा बाल आश्रम, सभा हलको उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ । ती निर्माण सम्पन्न पूर्वाधार उद्घाटनको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज आउने कोषाध्यक्ष बञ्जाडेले जानकारी दिए ।
अनेकौ देवीदेवताहरुको विग्रह स्थापना गरी सनातन वैदिक धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी पूर्वाधार निर्माण सुरु गरिएको थियो । २०७२ देखि निर्माण सुरु गरिएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंग तथा १ हजार १०८ शिवलिङ्ग स्थापनासहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर, सभा हल निर्माण गरिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै सरदर ६ करोड रुपैंया खर्च भएको छ भने धामको अहिले चलअचल समेत गरी ५० करोड बढी रहेको कोषाध्यक्ष बञ्जाडेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij