बुधवार , आश्विन ८, २०८२
काठमाडौं, ८ असोज । खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले चाडपर्व लक्षित अनुगमन तिब्र पार्दै गएको छ ।
नेपालीहरुको महानचाड दशैँ तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुहरु बढेको गुनासाहरु बढेपछि अनुगमन शुरु गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले चाडपर्व लक्षित अनुगमनलाई बढाइएको बताउनु भयो ।
अहिले राजमार्गमा भएका होटेल, रेस्टुरेण्टहरु लगायत बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गत रहेका सातवटा प्रदेशमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु र ती प्रदेशअन्तर्गत रहेका कार्यालयअन्तर्गत रहेका जिल्लास्थित डिभिजन कार्यालयहरुमार्फत भइरहेको छ । अनुगमनबाट निर्देशन दिनेदेखि जरिवानासम्म गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानिर्देशक वैद्यले पानीका जारदेखि दुग्घजन्य वस्तु, खाद्यन्न सम्म नै अनुगमनबाट समस्या देखिएको बताउनु भयो । उहाँकाअनुसार प्रशोधित पानीहरुमा समस्याहरु छन् ।
पुराना थोत्रा जारहरु जता ततै प्रयोग भइरहेको छ । ती जारहरुलाई उपभोक्ताले रिजेक्ट गर्न सकेका छैनन् । उहाँका अनुसार रेस्टुरेण्ट होटलहरुले मापदण्ड पूरा नगरेको, दुधमा मिसावट गरिएको, कतिपय खाद्य वस्तुमा बढी रंग प्रयोग गरिएको पछिल्ला अनुगमनबाट पाइएको छ ।
महानिर्देशक वैद्यले भन्नुभयो–‘कोतरेको जारमा हामीले त्यो जारलाई किन्नुपर्छ भन्ने छैन नि त । बजारमा अरु पनि अप्सन छ नि । जब उपभोक्ताले रिजेक्ट गरिदिनु भयो समस्या अलि कम हुन्छ र हामीले भेटेको ठाउँमा त्यो जारहरु तोड्ने गरिराख्या छौं ।
अब होटेल रेस्टुरेन्टमा पुनः प्रयोग हुने तेलहरुमा जथाभावी प्रयोग भइरहेको पायौँ, पहिलाको तुलनामा अलि कम त भाछ, र पनि सबै ठाउँमा खाद्य निरीक्षक अधिकारीहरु पुग्न नसक्ने पनि हुन्छ । डेली जाने कुरो पनि भएन ।
त्यसले गर्दाखेरी यस्तो खालको तेलहरुको एकदमै खराब अवस्थाको तेल छ, जसले गर्दाखेरि त्यहाँ पकाएको खाद्य वस्तु राम्रो हुँदा पनि त्यो तेलले गर्दाखेरि नै बिग्रिने एउटा अवस्था छ ।
अहिले आइराखेको रिपोर्टमा के भनिराछ भने होटेल रेस्टुरेण्टहरुमा एउटा सजगता पनि छैन र हामीले उहाँहरुलाई अझै धेरै पढाउनुपर्ने देखियो । त्यहाँ रङहरुको प्रयोग पनि अत्यधिक मात्रामा भइराखेको छ र हामी के भन्छौँ भने रङ प्रयोग गरिसकेपछि पकाउने होइन, हैन ? तयारी खाद्य वस्तुहरुमा केही मात्रामा, तोकिएको मात्राभित्र रहेर प्रयोग गर्न सकिन्छ ।
त्यो पनि समस्या आइरहेको छ । सरसफाइको असाध्यै धेरै समस्याहरु छ । कतिपय ठाउँहरुमा अहिले एकदमै जस्तो स्टेनलेस स्टिलको टेबलहरु, जुन सफा गर्न सक्ने खालको पनि देखिएको छ ।
कतिपय ठाउँमा वेस्ट म्यानेज गर्नुपर्ने भएपनि त्यो नगर्दाखेरि त्यहीबाट किराहरु, प्रकोपहरु हुने गरेको पायौँ । दुधहरुमा पनि मिसावट भएको धेरै गुनासो छ, फ्याट पुग्या छैन अथवा चाहीँ त्यसमा सुक्ष्म जीवहरुको कुराहरु आइराखेको छ ।
त्यसकारणले त्यो कुरालाई पनि हामी अध्ययन गरिराख्या छौँ । कतिपयमा कहाँ उजुरीहरु पनि आइराख्या छ । र त्यसलाई पनि हामीले, बजारमा अनुगमनको दायरा अल्लि फराकिलो गराएका छौं ।’
जोशीकाअनुसार मुलुक संघीय प्रणालीमा गएकाले तल्लो तहबाट पनि अब अनुगमन हुनसक्ने भएकाले खाद्य स्वच्छता कायम गरिने बताउनु भयो । उहाँकाअनुसार २ वर्ष अगाडीसम्म २०२० सालको खाद्य ऐन रहेकोमा विश्व बजारको परिवेशलाई समेटेर गुणस्तर ऐन, २०८१ आइसिकेको छ ।
त्यसले सम्पूर्ण खाद्य श्रृंखलामा नै खाद्य स्वच्छता कायम हुनुपर्ने भनेको छ । ऐनअनुसार विभागले प्रभावकारी हिसाबले काम गर्दै जाने उहाँले बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij