२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

तिलोत्तमा क्रिकेट लिग सुरु, उद्घाटन खेलमा विश्व लायन टटल्स विजयी

बिहिवार , आश्विन २३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • तिलोत्तमा, २३ असोज । तिलोत्तमा क्रिकेट लिग–२०८२ बुधबारदेखि सुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानमा सुरु भएको अक्सन बेस प्रतियोगिताको नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभएको हो । 

    557632333_1260123422823342_4243234674472676261_n.jpg

    फ्रेन्चाइजमा आधारित ६ वटा टोली सहभागी रहेको उद्घाटन खेलमा बुटवल डाइनामाइटलाई ९ विकेटले पाखा लगाउँदै विश्व लायन टटल्सले विजयी सुरुवात गरेको छ । बुधबार टस हारेर ब्याटिङ गरेको बुटवल डाइनामाइटले निर्धारित २० ओभरको खेलमा १५ दशमलव २ ओभर खेलेर ६४ रन जोड्योे । बुटवल डाइनामाइटका लागी सागर गैरेले १२ तथा सुप्रिम कँडेलले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    डाइनामाइटलाई सस्तैमा समेट्ने क्रममा विश्व लायन टटल्सका शुभम खनालले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर महत्वपूर्ण ४ विकेट हात पारे भने कप्तान आशुतोष पाण्डेले २ विकेट लिए । ६५ रनको झिनो लक्ष्य पछ्याएको विश्व लायन टटल्सले ७ ओभर खेलेर मात्रै १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । विश्व लायन टटल्सका रोजन कुमालले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३५ रन बनाए । आउट हुनु अघि अमन बोहोराले १३ रनको योगदान दिए भने नविन भण्डारीले ७ रन बनाई नटआउट रहे । 

    खेलमा बुटवल डाइनामाइटका सागर गैरेले १ विकेट हात पारे । खेलमा विश्व लायन टटल्सका रोजन कुमालले गेम चेन्जरको उपाधी प्राप्त गरे भने विजेता टीमकै शुभम खनाल म्यान अफ द म्याच घोषित भए । 

    तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, माउण्ट एभरेष्ट कत्था मिल्सका चेयरम्यान बसन्त रोका क्षेत्री, तिलोत्तमा वडा नम्बर १७ का अध्यक्ष दान बहादुर चौधरी, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका प्रोपराइटर बिनोद कुवँर, अतिथिहरु विश्वनाथ यादव, धिरज क्षेत्री, संन्जीव भण्डारी, श्रीराम नेपाली लगायतको सहभागीता थियो । उपाध्यक्ष कृष्ण भुसालको स्वागत तथा सचिव मिलन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा बिहीबार २ खेलको आयोजना गरिएको छ ।