
बुधवार , बैशाख ८, २०७८
भैरहवा, ८ वैशाख ।
राष्ट्रिय सभा नेकपा (एमाले) का प्रमुख सचेतक खिमलाल भट्टराईले अब लुम्बिनी क्षेत्रलाई पछाडी पर्न नदिइने बताएका छन् । उनले यहाँको शिक्षा, कृषि, पर्यटन र युवाहरुको रोजगारीको जिम्मा लिने बताए ।
लुम्बिनी विकास मञ्च गैडहवा–७ शान्तिबजार रुपन्देहीले मंगलबार लुम्बिनीमा आयोजना गरेको सरसफाई अभियान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले सम्पूर्ण हिसाबले यहाँको जिम्मा लिएर अगाडी बढ्ने बताए । उनले यो ठाउँलाई विकसित गर्ने गरी अगाडी बढ्ने बताए ।
‘युवाहरुलाई रोजगारी दिने प्रश्न छ, अहिले हाम्रो सरकार र हामी मुख्य रुपमा स्वरोजगारमा लाग्ने हो, कृषि र व्यवसायीको समस्या समाधान गर्दै पूर्वाधारको विकासमा अगाडी बढ्ने भनेपछि हामीले युवाहरुलाई रोजगारीतर्फ आकर्षित गरेर अगाडी बढ्छौं, ’भट्टराईले भने ।
लुम्बिनी स्मार्ट सिटीको अवधारणामा गइरहेको र अब लुम्बिनी मात्र नभइ लुम्बिनीसहित मायादेवी, गैडहवा, कञ्चन र सैनामैना र क्षेत्र नम्बर ५, रुपन्देहीलाई स्मार्ट सिटीसंग जोडेर अगाडी बढने उनले बताए । लुम्बिनीको ३ वर्गमाइल क्षेत्र मात्र नभइ विकासलाई यहाँको वस्तीसंग जोड्न सरकार लागेको उनको भनाइ थियो । सरकारले १२ वटा शहरलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेकोले सोही अन्तर्गत लुम्बिनीलाई जोडेर अगाडी बढ्ने भट्टराईले बताए ।
‘अब हामीले यहाँको वस्तीलाई विकास र समृद्धिसंग जोडेर अगाडी बढाउँछौं, स्मार्ट सिटी बनाउँदा जनतालाई दुःख दिने र वस्ती उठाउन लागियो भन्ने गलत प्रचार हुन सक्छ तर वस्ती उठाउने सरकारको कुनै योजना छैन, जनताको अहित हुने गरी काम गर्दैनौं, गलत प्रचार हुँदैमा विकासको योजना नल्याउने भन्ने हुँदैन, ’भट्टराईले भने । भ्रमलाई चिर्न युवाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । राजनीतिक संस्कारलाई नयाँ ढंगले अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदैं आएको लुम्बिनी विकास मञ्चले नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन कार्यक्रम गरेको मञ्चको अध्यक्ष सन्दिप गुप्ताले बताए । त्यस्तै लुम्बिनी विकास कोषको कार्यालय नजिकै रहेको वनभोज स्थलमा सरसफाई गरिएको नेकपा (एमाले)का युवा नेता चन्द्रकेश (सि.के.) गुप्ताले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij