२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग

आइतवार , आश्विन २६, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • काठमाडौं, २६ असोज । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ ।

    तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् ।

    तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् ।

    गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गर्नुभयो ।

    पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उहाँले बताउनु भयो । उहाँकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको उहाँले बताउनु भयो ।

    किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उहाँले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताउनु भयो । २० वर्षदेखि मखमलीको खेती गर्दै आउनुभएकी उहाँले मालामा खासै नाफा कमाउन नसकेको बताउनु भयो ।

    उहाँले मालाको मूल्य निधारण गर्न सरकारसँग माग पनि गर्नुभयो । सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने बताउनु भयो । उहाँले यहाँका किसानले मागअनुसार फूलको उत्पादन गरेको पनि दाबी गर्नुभयो ।

    उहाँले मखमली फूलको बीउमा समेत समस्या रहेको बताउनु भयो । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतको समस्या हुने उहाँको भनाई छ । 

    किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताउनु भयो । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उहाँको भनाई छ । उहाँले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिनुभयो ।

    उहाँले गतसाल दुई हजार माला बेच्नुभएको थियो । राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिनुभयो । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको उहाँहरुको गुनासो छ । 

    फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँहरुले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या खडा भएको बताउनुभएको छ ।