२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छ : सञ्चारमन्त्री खरेल

आइतवार , आश्विन २६, २०८२

  • 607
    Shares
  • 607
    Shares
  • काठमाडौं, २६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने बताउनुभएको छ ।

    आईतवार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । फागुन २१ मा चुनाव गराउने कुरामा सरकार स्पष्ट रहेको सञ्चारमन्त्री खरेलको भनाई थियो ।

    उहाँले सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने बताउनु भयो । ६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सोहीअनुसार कामलाई अघि बढाइएको दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘यो सरकार विशेष परिस्थितिमा आएको हो । यसको स्पष्ट मान्डेटहरु छन् । चुनाव फागुन २१ मा गर्नैपर्छ, गर्ने नै हो । यो सरकार यसमा स्पष्ट छ । दोस्रो कुरा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरुमा यो ५÷६ महिनाको अवधिमा जनतालाई अनुभुत गराउने गरेर काम शुरु भयो, अगाडि बढयो, काम देखियो भन्ने हिसावले त्यसको शुरुवात गर्ने हो ।

    फेरि मैले यो पटक पटक भनेको छु–यो भ्रष्टाचार नियन्त्रणमा सयमा सय गर्न त समय लाग्दछ नै । हामीसँग त यतिवटा काण्डहरु छन् कि कतिपय काण्डहरु २ महिना लाग्छ, ३ महिना लाग्छ । एक वर्ष लाग्छ । २ वर्ष लाग्नसक्छ । तर ६ महिना भित्र कम्तिमा महशुस हुनेगरी कामहरु अगाडि बढाउने हो । र, तेस्रो कुरा भनेको जुन जेनजी आन्दोलनको क्रममा धनजनको क्षति भएको छ । पूर्वाधारहरुको क्षति भएको छ । पत्रकारहरु नै घाइते भएका छन् ।

    सञ्चार माध्यामको कुरा गर्दा खण्डहरु जस्तो देखिएको छ । देशभर अरु धेरै क्षति भएको छ । त्यस हिसावले यसको क्षतिको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने कुरामा दुविधा नराख्दा हुन्छ ।’

    मन्त्री खरेलले जेन—जी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही गर्ने दृढता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनको क्रममा सञ्चार संस्था तथा पत्रकारहरुले भोग्नुपरेको पीडाबारे मन्त्री खरेलको ध्यानाकर्षण गराउनु भएको थियो ।