२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

वायुसेवा निगममा भएको अनियमितता छानविन गर्न जेन-जीको माग

आइतवार , आश्विन २६, २०८२

  • 676
    Shares
  • 676
    Shares
  • काठमाडौं, २६ असोज । जेन—जी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियमितता छानविन गर्न माग गरेको छ ।

    जेन—जी समुहले आईतवार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो । जेन—जी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।

    उहाँले वाइडबडी र लाउडा एयर घोटालाको छानविन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताउनु भयो । अदालतबाट दोषि ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उहाँले बताउनु भयो । साथै करार कर्मचारीहरु संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिनुभयो ।

    निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेन—जी समूहको माग छ । आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिनुभयो । 

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गर्नुभएको छ । जेन—जीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उहाँले बताउनु भयो ।

    उहाँले जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताउनु भयो । जहाज विक्री गर्दा ग्राउण्डेड गराएर मात्रै विक्री गर्ने गरिएको उहाँको भनाई छ । उहाँले निगमको अनियमितताको छानविनमा कर्मचारीहरुले छानविन समितिलाई सहयोग गरेको पनि बताउनु भयो ।

     जेन—जी समुहले सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पती विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

    निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।