
आइतवार , आश्विन २६, २०८२
भैरहवा, २६ असोज । विगत १८ वर्षदेखि रुपन्देहीको भैरहवामा केन्द्रीत भइ साउण्ड र म्यूजिकको व्यवसाय गर्दै आएको युनिक साउण्डले विगतका वर्षहरु जस्तै यसवर्ष पनि दीपावली फेस्टीबल गर्ने भएको छ ।
हिन्दूहरुको महान पर्व तिहार (लक्ष्मी पूजा) को अवसरमा आपसी सद्भाव, नगरबासीलाई उल्लासमय र तिहारको अनुभुति गराउन संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्न यो कार्यक्रम गर्दै आएको युनिक साउण्ड भैरहवाका सञ्चालक रहिश खानले बताउनुभयो ।
आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक खानले एकल लगानीमा ९ वटा फेस्टीबल सफलतापूर्वक सम्पन्न गरी दशौंपटक यो कार्यक्रम आयोजना गर्न लागि जानकारी दिनुभयो । ‘युनिक दीपावली फेस्टीबल–२०८२’ आगामी कार्तिक ३ गते भैरहवास्थित मिलनचोकमा साँझ ६ देखि राती १२ बजेसम्म गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।
‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिइ सडकको एक साइडमा मञ्च रहने र सडक पनि सजावट गरी झिलीमिली गर्नेछौं । कार्यक्रम नृत्य, गायनलगायतका साँस्कृतिक कार्यक्रमहरु गरिनेछ, ’उहाँले भन्नुभयो ।
यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सद्भावको निम्ति स्थानीय कलाकारलाई प्रतिभा देखाउने अवसरको रुपमा पनि लिनुपर्छ भन्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । ‘विगतका जस्तै यस वर्ष पनि चर्चित राष्ट्रिय कलाकार राखेका छौं । ‘सरप्राइज’ को रुपमा रहेका कलाकार विगत जस्तै हामीले सिधै मञ्चबाट सार्वजनिक गर्छौं, ’उहाँले भन्नुभयो ।
सञ्चालक खानका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुहुनेछ । लगानी युनिक साउण्डको भए पनि कार्यक्रमका लागि चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीले सहजीकरण र समन्वय गरेको उहाँले जानकारी दिनुभयो । ‘प्राय तिहार जस्तो पर्वमा पनि भैरहवा सुनसान हुने देखिएपछि यो कार्यक्रम य वर्ष पनि निरन्तरता दिएका छौं । करिब १० लाख बढीको लगानीमा भैरहवाको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरेको छौं, ’खानले भन्नुभयो ।
यो कार्यक्रममा स्थानीयले मनोरञ्जन पाउनुका साथै केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने आशाले ५० हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । कार्यक्रमको अवलोकनका लागि भैरहवा मात्र नभइ छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने गरेको सञ्चालक खानले जानकारी दिनुभयो ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष सचिन रोक्काले विगतमा हुँदै आएको फेस्टीबलले यस वर्ष पनि निरन्तरता पाएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण तथा आर्थिक चलायमानमा सहयोग पुग्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij