२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

तिलोत्तमा क्रिकेट लिगमा आइतबार नेपथ्य इगल्स तथा द रिभाइभलियन्स विजयी

आइतवार , आश्विन २६, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • तिलोत्तमा, २६ असोज । तिलोत्तमा क्रिकेट लिग अन्तर्गत आइतबार भएका दुई खेलमा नेपथ्य इगल्स र द रामापुर रिभाइभलियन्स विजयी भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको बुटवल डायनामाइट्सलाई ५ विकेटले हराउँदै नेपथ्य इगल्सले जीतको सिलसिला कायमै राखेको छ ।

    सुरुमा ब्याटिङ गरेको बुटवल डायनामाइट्सले आभ्या ढकालको १८ रनको मद्दतमा अलआउट हुनुअघि १७ ओभर ४ बल खेल्दै ५० रनको झिनो स्कोर खडा गरेको थियो । डायनामाइट्सलाई सस्तैमा समेट्ने क्रममा नेपथ्य इगल्सका बलरद्धय पे्रमसागर यादवले ३ तथा लक्ष्मण कुमालले २ विकेट लिनुभयो ।

    ५१ रनको लक्ष्य पछ्याएको नेपथ्यले मात्र ५ विकेटको क्षतिमा ११ ओभर ३ बल खेल्दै ५२ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो । नेपथ्य इगल्सको जीतमा अलराउण्डर प्रदर्शन गर्नुभएका लक्ष्मण कुमालले अविजित २५ रन र मनन खानले १४ रन जोड्नुभयो ।

    नेपथ्यविरुद्ध उत्कृष्ट बलिङ गर्ने क्रममा बुटवल डायनामाइट्सका सुप्रिम कंडेलले ३ विकेट लिए पनि हार टार्न सक्नुभएन । खेलमा उत्कृष्ट लयमा बलिङ गर्नुभएका विजयी टोली नेपथ्यका पे्रमसागर यादव म्यान अफ दी म्याच घोषित हुनुभयो भने लक्ष्मण कुमालले गेम चेन्जरको उपाधी प्राप्त गर्नुभयो ।

    त्यसै गरी आइतबार नै भएको दोस्रो खेलमा पी टु के डी स्क्वाडलाई ७ विकेटले हराउँदै द रामापुर रिभाइभलियन्सले महत्वपूर्ण अंक बटुल्न सफल भयो । पहिले ब्याटिङ गरेको पी टु के डी स्क्वाडले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ६४ रनको मध्यम स्कोर खडा गरेका थियो । उसका लागि रुद्राशं भट्टराईले १७ तथा सफल भट्टराईले ११ रन बनाउनुभयो ।

    पी टु के डी स्क्वाडलाई सामान्य स्कोरमै रोक्ने क्रममा द रामापुर रिभाइभलियन्सका आयान खानले महत्वपूर्ण ४ विकेट र प्रिन्स पालले २ तथा सिद्धार्थ ढकालले १ विकेट लिनुभयो । ६५ रनको लक्ष्य पछ्याएको द रामापुर रिभाइभलियन्सले मात्र १० ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि अजय चाईले अविजित २७ रन बनाउँदा सिद्धार्थ ढकालले १७ रनको महत्वपूर्ण पारी खेल्नुभयो ।

    पी टु के डीका लागि सहज अर्यालले २ तथा सागर भण्डारीले १ विकेट लिनुभयो । तर, त्यो जीतका लागि प्रयाप्त भएन र सिंगो टोली ७ विकेटले हार्न पुग्यो । उत्कृष्ट लयमा बलिङ गर्दै महत्वपुर्ण ४ विकेट लिने द रामापुर रिभाइभलियन्सका आयान खान म्यान अफ द म्याच हँुदा सिद्धार्थ ढकालले गेम चेन्जरको उपाधि जिते । प्रतियोगितामा सोमबार पनि दुई खेल हनेछन । पी टु के स्क्वाड र विश्व लायन टटल्स बीच पहिलो तथा खेलासिकी ओर्कास र नेपथ्य इगल्सबीच दोस्रो खेल हुनेछ ।