२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा भदौ ५ गतेसम्म लकडाउन

शुक्रवार , श्रावण ३०, २०७७

भैरहवा, ३० साउन ।
सिद्धार्थनगर क्षेत्र भित्र कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सिद्धार्थनगर नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले साउन ३१ गते राती १२ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई तथा अन्य अत्यावश्यक सेवाहरु सञ्चालन हुने नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।

नगरपालिकाका अनुसार स्वास्थ्यसम्बन्धि सबै कार्यहरु, दमकल, विद्युत, सरसफाई, खानेपानी र अत्यावश्यक सेवा सञ्चालन गर्ने जनप्रतिनिधि, कर्मचारीहरुले प्रयोग गर्ने सवारीसाधनहरु साथमा परिचयपत्र हुनुपर्नेछ । त्यस्तै खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थहरुको विक्रीवितरण आवश्यक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र सांझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

त्यसै गरी बैंक, वित्तीय संस्था, सहकारी संस्थाहरुले कम भन्दा कम कर्मचारीमार्फत विद्युतीय माध्यमबाट मात्र सेवा सञ्चालन गर्ने र काउण्टर सर्भिसहरु बन्द हुने नगरप्रमुख अधिकारीले बताए ।

‘लकडाउनको अवधिमा औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने, सुरक्षा मापदण्ड पालना गराउने दायित्व सम्बन्धित रोजगारदाताको हुनेछ, सो को पालना नभएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही अगाडी बढाइनेछ, उनले भने ।

लकडाउनको अवधिमा सिद्धार्थ राजमार्ग हुँदै जाने सवारीसाधनहरु नगर क्षेत्रभित्र रोक्न नपाइने र खाद्यजन्य पदार्थको लोड/अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म मात्र गर्ने पाउनेछन् ।
सिद्धार्थनगर क्षेत्र भित्रका नापी, मालपोत, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालयहरु सम्बन्धित कार्यालय प्रमुखहरुले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारीहरु मात्र उपस्थित हुने गरी आवश्यक व्यवस्थापन मिलाइने नगरप्रमुख अधिकारीले जानकारी दिए ।

त्यस्तै लकडाउनको अवधिमा ठेला, साइकल जस्ता साधन प्रयोग गरी कुनै पनि व्यापार गर्न नपाइने तथा फुटपाथ, सडकपेटी, मायादेवी लगायतका हाटबजारमा कुनै पनि वस्तु वा सेवा विक्री गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । लकडाउनमा नेपाल सरकारले सञ्चालन गर्न नपाइने भनी रोक लगाएका अन्य सबै क्रियाकलापहरु सञ्चालन गर्न नपाइने मरासिनीले जानकारी दिए ।

लकडाउन अवधि सुरु हुनु अघि नै सिद्धार्थनगरमा आउनुपर्ने व्यक्तिहरु आइसक्नुहुन र सिद्धार्थनगर छोड्ने व्यक्तिहरुले छोडिसक्नु हुन नगरपालिकाले आग्रह गरेको छ ।