२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

बुटवलका सम्पूर्ण शैक्षिक गतिविधिहरु वैशाख मसान्तसम्मका लागि स्थगित

बुधवार , बैशाख ८, २०७८

बुटवल, ८ वैशाख । 
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका सबै शैक्षिक संस्थामा कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । उपमहानगरपालिका कार्यालयले सूचना जारी गर्दै वैशाख ९ गतेबाट मसान्तसम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्न र पठनपाठन लगायतका कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।

नेपाल सरकारको मिति २०७८/०१/०६ को निर्णय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको मिति २०७८/०१/०७ को सूचना अनुसार पूर्व निर्धारित परीक्षा लगायतका सबै कार्यक्रम स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ । विद्यालयहरुमा पठनपाठन, परीक्षा लगायतका सबै गतिवधि वैकल्पिक माध्यमबाट संचालन गर्न समेत सुचित गरिएको छ । 

यसबाट कतिपय विद्यालयहरुले वैशाख १६ गतेबाट लिन पूर्व निर्धारण गरेको कक्षा ८ र १० को परीक्षा समेत स्थगित भएको छ । उपमहानगर क्षेत्र भित्रका अभिभावकहरुलाई आ–आफ्ना बालबालिकालाई अनलाइन लगायतका वैकल्पिक माध्यमबाट पठनपाठन गराउन र विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

कोरोना कहर बढ्दै गइरहेकोले र यसबाट बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकोले बिद्यालय बन्द गर्ने निर्णय गरिएको र यसमा सहयोग र सहजीकरण गर्न सबै शिक्षक, बिद्यार्थी र अभिभावकलाई आग्रह गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।