
बुधवार , बैशाख ८, २०७८
बुटवल, ८ वैशाख ।
यही वैशाख ६ गते लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा जनता समाजवादी पार्टी नेपाल (जसपा) को संलग्नता रहेको भन्ने प्रचार भएकोप्रति जसपा संसदीय दल लुम्बिनी प्रदेशले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई जसपाले दिएको विश्वासको मत निरन्तर दिएको संसदीय दलले जनाएको छ ।
जसपा संसदीय दलका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले बुधबार विज्ञप्ती जारी गर्दै वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा जसपाको संलग्नता नरहेको स्पष्ट पारेका छन् । ‘कुनै फरक प्रंसगमा भएका हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएकाले त्यस्तो क्रियाकलाप निन्दनीय छ, ’विज्ञप्तीमा भनिएको छ ।
त्यसै गरी प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष गरेको समावेदनप्रति पनि सहमति नरहेको संसदीय दलले स्पष्ट पारेको छ । अविश्वासको प्रस्ताव दर्ता अघि नै संसदीय दलको बैठक बसेर नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेकोले कुनै पनि भ्रममा नपर्न पाण्डेयले अनुरोध गरेका छन् ।
‘जसपा संसदीय दल स्थिरता, विकास र शुसासनको पक्षमा दृढतापूर्वक उभिएकाले राजनैतिक स्थिरता, विकास र सुशासनलाई बल पुर्याउन एमाले नेतृत्वको सरकारमा सहभागि हुने निर्णय गरेको जानकारी गराउँछु, पाण्डेयले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij