२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जनताको सेवा गर्न मन्त्री बनेको हुँ : सन्तोष पाण्डेय

बिहिवार , बैशाख ९, २०७८

भैरहवा, ९ वैशाख ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले जनताको सेवा गर्न आफू मन्त्री बनेको बताएका छन् । उनले सरकारमा जान मात्र नभइ सडक, यातायात तथा पूर्वाधारको विकास गर्न आफू मन्त्री बनेको बताए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिरमा पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई बिहीबार धन्यवाद दिदै मन्त्री पाण्डेयले भने, ‘मलाई रुपन्देही क्षेत्र नम्बर ३ (१) का जनताले निर्वाचनमा जिताएर प्रदेशसभा सदस्य बनाउनुभएको छ, अहिले मन्त्री बनेको छु, त्यसैले यो क्षेत्रको जनताले आफू मन्त्री भएको सोच्नुपर्छ ।’ उनले निर्वाचन जितेपछि मन्त्री बन्नुहुँदैन भन्ने कुन राजनीतिक दलको घोषणापत्रमा छ भन्दै प्रश्न गरे । 
कांग्रेस, एमाले, माओवादी केन्द्र सरकारमा गएको र जनता समाजवादी पार्टी नेपाल (जसपा) पनि सरकारमा गएर जनताको सेवा गर्ने अवसर पाएको बताए । प्रदेश सरकारमा आफूसहित ४ जना जसपाका सांसद मन्त्री बन्न सफल भएको उनको भनाइ छ ।

विशेष गरी रुपन्देहीको दक्षिणी क्षेत्र पछाडी परेकोले अब दक्षिण क्षेत्रको विकास गर्नुपर्ने मन्त्री पाण्डेयले बताए । लामो समयपछि संघीयताको माध्यमबाट प्रदेशसभाको स्थापना भएको र संघीयताले जनतालाई अधिकार दिएको उनले बताए ।

आफूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै इमान्दारीका साथ काम गर्न र बजेट फ्रिज हुन नदिन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिइसकेको उनले बताए । जनताको र यस क्षेत्रको विकासको लागि निरन्तर लागिपर्ने मन्त्री पाण्डेयले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले विकासप्रेमी नेता सन्तोष कुमार पाण्डेयलाई मन्त्रीको रुपमा पाएको बताए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको माध्यमबाट पिछडिएको क्षेत्रको विकास हुने बताए । 

जसपाका नेता दिनेश मिश्राले जनताको चाहना अनुसार सांसद सन्तोष कुमार पाण्डेय मन्त्री बन्नुभएको र यो गर्वको विषय भएको बताए ।