
शुक्रवार , आश्विन ३१, २०८२
तिलोत्तमा, ३१ असोज । तिलोत्तमा क्रिकेट लिगको उपाधि द रिभाइभलियन्सले उचालेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउण्ड तथा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजित तिलोत्तमा क्रिकेट लिग–२०८२ को फाइनल उपाधि द रिभाइभलियन्सले प्राप्त गरेको हो ।
सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा बिहीबार भएको फाइनल खेलमा द रिभाइभलियन्सले विश्व लायन टर्टल्सलाई ४ विकेटले स्तब्ध पार्यो । टस जितेर ब्याटिङ रोजेको विश्व लायन्स टट्ल्र्सले १२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ४५ रनको सामान्य योगफल खडा गरेको थियो ।
विश्व लायन टर्टल्सका लागि शुभम खनालले १७ तथा बिनय कार्कीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सक्नुभएन । विश्व लायनलाई सामान्य स्कोरमै रोक्ने क्रममा द रिभाइभलियन्सका लागि लेख बहादुरले ५, प्रिन्सपालले ३ तथा फैजन खानले महत्वपूर्ण २ विकेट लिनुभयो । ४६ रनको सामान्य योगफल पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको द रिभाइभलियन्सले ६ विकेट गुमाउँदै विजय हासिल गर्यो । द रिभाइभलियन्सको लागि सचिन जि.सी.ले १९ तथा समिर ठकुरीले ११ रनको योगदान दिनुभयो । विश्व लायन टट्ल्र्सको लागि शुभम खनालले र नविन भण्डारीले ३/३ विकेट लिनुभयो । प्रतियोगितामा द रिभाइभलियन्सका लेखबहादुर म्यान अफ द म्याच घोषित हुनुभयो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्म्यानको उपाधि शुभम खनालले प्राप्त गर्दा उत्कृष्ट बलर र प्लेयर अफ द टुर्नामेन्टको उपाधि समेत शुभम खनालले नै पाउनुभयो । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट लागि नगद रु. १० हजार, उत्कृष्ट ब्याट्सम्यानका लागि रु ७ हजार ५ सय र उत्कृष्ट बलरका लागि रु. ७ हजार ५ सय व्यवस्था गरिएको क्रिकेट विकास समितिका उपाध्यक्ष कृष्ण भुषालले बताउनुभयो ।
त्यसै गरी प्रतियोगिताको उपाधि विजेता टीम द रिभाइभलियन्सले नगद रु. १ लाख र उपविजेता बनेको टीम विश्व लायन टर्टल्सले रु. ५० हजार रकम प्राप्त गरेको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता, उपविजेता तथा विधागततर्फ उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरुलाई बिहीबार नै प्रमुख अतिथि तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा लगायतको रोहबरमा पुरस्कार प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij