२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

देशका केही स्थानमा सामान्य वर्षा, हुम्लामा वर्षासँगै हिमपात 

बिहिवार , बैशाख ९, २०७८

काठमाण्डौ, ९ वैशाख ।

काठमाडौंसहित देशका विभिन्न भागमा हिजो बुधबारदेखि सामान्य वर्षा भएको छ भने हुम्लामा बर्षासँगै भारी हिमपात भएको छ । स्थानीयका अनुसार हुम्लाको उच्च हिमाली भेगमा व्यापक हिमपात भएको छ भने मध्य र दक्षिणी भेगमा वर्षा भएको छ । 

उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगायतका क्षेत्रमा व्यापक हिमपात भएको स्थानीय पत्रकार नरजंग तामाङ्गले बताए । तामाङ्गका अनुसार सदरमुकाम सिमकोटमा बिहीवारदेखि लगातार हिमपात भइरहेको छ । हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान भर्न कठिनाई उत्पन्न भएको छ भने दुई दिनदेखि निजी कम्पनीका हवाई उडान प्रभावित भएका छन् ।

वर्षा र हिमपातका कारण बुधबारदेखि उडान प्रभावित भएका हुन् । हिमपातले जिल्लाका कृषकहरू भने हर्षित बनेका छन् । खेतबारीमा छरेको अन्नवाली राम्रो हुने भएपछि उनीहरु खुशी भएका हुन् । यसैबीच हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । 

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । 

सुदुर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यद्यपि देशका केही स्थानहरुमा प्रदुषणयुक्त तुवाँलोको सम्भावना रहेको महाशाखाको भनाइ छ । पहाडी क्षेत्रमा बर्षा र हिमाली क्षेत्रमा हिमपात भए पनि तराई क्षेत्रमा अझै प्रयाप्त वर्षा नभएकोले तुँवालोको सम्भावना कायममै रहेको हो ।