
मंगलवार , कार्तिक ४, २०८२
भैरहवा, ४ कार्तिक। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै साढे १८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका अन्दाजी १८ लाख ४२ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।
डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट ४२ हजार मूल्य बराबरको फाइबर सिरानी २१० पिस, ३ लाख मूल्य बराबरको ना २ ह ७१ र लुम्बिनी प्रदेश ०१–००१ ह १७७१ नम्बरको ई–रिक्सा २ थानसहित त्यसमा संलग्न सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षिय अलउदिन चुरिहार र सिद्धार्थनगर–६ बस्ने ५५ वर्षिय मिहाज अहमदलाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भारतको दिल्ली बस्ने ४८ वर्षिय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षिय पवन अली र ३८ वर्षिय साहिद मलिक मिली DL 5 CN 9097 नम्बरको भारतीय कारमा राखेर सामान ल्याउँदै गरेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट विभिन्न सामानहरु नियन्त्रणमा लिएको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७ लाख २० हजार मूल्य बराबरको Dermi 5 Cream २४५ प्याकेट, ग्लास किट १ हजार थान, पान पराग १४ प्याकेट र रजनीगंध २१० प्याकेट, ७ लाख ८० हजार मूल्य बराबरको गाडीसहित १५ लाख बराबरको सामान बरामद गरिएको बताउनुभयो ।सोहेब, पवन र साहिदको साथबाट भारतीय ६४ हजार र पाकिस्तानी १० हजार रुपैयाँ बरामद भएकोले उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij