शनिवार , कार्तिक ८, २०८२
भैरहवा, ८ कार्तिक । तिहार सकिएलगत्तै छठ पूजाको तयारी सुरु भएको छ । विगतमा नेपालको विशेष गरी तराई–मधेशमा मनाइँदै आइएको यो पर्व अहिले देशका विभिन्न स्थानमा मनाउन लागिएको छ ।
रुपन्देहीको भैरहवामा पनि छठ पूजाको तयारी सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री कालीभक्ति गण (ई) मा रहेको छठ पोखरीमा विगत ६० वर्ष भन्दा बढीदेखि पूजा गरिदै आएको छठ पूजन समिति सिद्धार्थनगरका संयोजक आनन्द प्रसाद गुप्ताले बताउनुभयो । उहाँले छठ पूजाका लागि ७५ प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो । छठ पोखरी सरसफाई, रंगरोगन लगायतका काम भइरहेको संयोजक गुप्ताले बताउनुभयो । बाँकी काम आइतबार गरिने उहाँले जानकारी दिनुभयो ।
‘श्री कालीभक्ति गण (ई) मा रहेको पोखरी धेरै पुरानो पोखरी र छठ पूजनस्थल हो, छठ पोखरी व्यवस्थित गर्नका लागि वडा समितिको कार्यालय, नगरपालिका र नेपाली सेनाले सहयोग गरेको छ, ’उहाँले भन्नुभयो । पोखरीको छेउमा करिब २ हजार १ सय बेदी राखिने र पूजास्थलमा करिब ३५–४० हजार जना श्रद्धालु भक्तजनको उपस्थिति हुने गुप्ताले जानकारी दिनुभयो ।
विगतमा मधेशी समुदायले मनाउँदै आएको यो पर्व अहिले देशव्यापी रुपमा मनाउन थालिएको र यसलाई सरकारले राष्ट्रिय पर्वको रुपमा लिइ सार्वजनिक विदा दिएको उहाँको भनाइ छ । छठमा व्रत बस्ने र पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । सन्तान नभएकाले सन्तान प्राप्तीको कामना तथा विभिन्न भाकल गरेर छठ पर्वमा निराजल व्रत बस्ने चलन रहिआएको उहाँले बताउनुभयो । पूजास्थलमा भक्तजनहरुको सुरक्षाको व्यवस्थापनमा विशेष ध्यान दिइने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा पनि छठ पूजाको तयारी सुरु भइसकेको छ । मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले श्रद्धालु भक्तजनहरुको सुरक्षालाई मध्यनजर गर्दै पूजास्थलमा सिसिटीभी क्यामेरा जडान गर्नुका साथै स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । मन्दिर परिसरमा ३ वटा पोखरी रहेको उहाँले बताउनुभयो ।
संसारमा संकट पर्दा मानव कल्याणका लागि छठ्ठी मैयाको उत्पत्ति भएको भन्ने मान्यता रहेको उहाँले बताउनुभयो । अध्यक्ष रौनियारले छठ पूजामा सूर्य भगवानको पूजा गरिने र सूर्यको वैज्ञानिक रुपमा पनि धेरै ठूलो महत्व रहेको बताउनुभयो ।
गोनहिया, दरखसवा लगायत भैरहवाको विभिन्न पोखरी तथा जलाशयमा छठ पूजा गरिदै आइएको सिद्धार्थनगर–६ निवासी मनोज जयसवालले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका–५ का वडा सदस्य प्रेम नारायण गुप्ताले छठ पर्व चार दिनसम्म मनाइने गरिएको बताउनुभयो । उहाँले सन्तान नभएकाले सन्तान प्राप्ती र सन्तान भएकाले दीर्घायुको कामना गर्दै छठ पर्व मनाउने गरेको बताउनुभयो । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij