२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

गोरखा लाप्राकका भूकम्प पीडित ६ बर्षपछि पुनःस्थापना भए

शुक्रवार , बैशाख १०, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • गोरखा, १० बैशाख।

    वि‍सं २०७२ सालको महाभुकम्पको केन्द्रबिन्दु रहेको गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राक गाँउका भुकम्प पीडितले ६ बर्षपछि घर पाएका छन्। लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्प पीडितलाई हस्तान्तरण गरिएसँगै ५ सय ७३ घरपरिवार पुनःस्थापना भएका हुन्। 

    तत्कालिन महाभूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्प पीडितको पुनःस्थापनाका लागि गैर आवासिय नेपाली संघ (एनआरएन)द्वारा निर्माण गरिएको एकीकृत नमूना बस्ती लाल पुर्जासहित पीडितहरुलाई हस्तान्तरण गरिएको छ। 

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले दिएको जानकारी अनुसार उक्त बस्ती निर्माणका लागि एनआरएन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा शहरी विकास मन्त्रालयबीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो। 

    दुई वर्षभित्रमा बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गर्ने भनिए पनि करीब पाँच वर्षपछि मात्र बल्ल बस्ती हस्तान्तरण गरिएको हो। पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारी, लगायतको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले भूकम्प पीडितलाई लालपुर्जा प्रदान गरि बस्ती हस्तान्तरण गरेका थिए। 

    कूल १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत नमूना बस्ती निर्माणका लागि अहिलेसम्म करीब ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ। बस्ती हस्तान्तरण भएपनि केही कामहरु बाँकी रहेको र निकट भविष्यमा सक्काउने तयारी छ। 

    एक परिवारका लागि करीब ३ आना ३ पैसा जग्गा परेको नमूना बस्तीमा प्रत्येक घर चार कोठाका दुई तलाका रहेका छन् भने प्रत्येक घरका लागि छुट्टै शौचालयसमेत निर्माण गरिएको छ । बस्तीमा निर्माण भएका घर गोलाप्रथाबाट स्थानीयलाई छुट्याइएको थियो।