२०८२, कार्तिक ११ गते

Oct 28 2025 | २०८२, कार्तिक ११ गते

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुनः निर्वाचित

मंगलवार , कार्तिक ११, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • काठमाडौं, ११ कार्तिक । पल बियाले ५३.६६ प्रतिशत मत प्राप्त गर्दै आठौं कार्यकालका लागि क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको छ ।

    देशको संवैधानिक परिषद्ले सोमवार यो घोषणा गरेको हो । क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवार इस्सा त्चिरोमा बाकारीले ३५.१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभयो ।

    ८० लाखभन्दा बढी दर्ता भएका मतदाताहरूमध्ये ४६ लाखभन्दा बढी क्यामरुनवासीहरूले मतदान गरेका थिए । जसले गर्दा मतदान दर ५७.७६ प्रतिशत पुगेको छ । जुन २०१८ मा ५३.८५ प्रतिशत र २०११ मा ६५.८२ प्रतिशत थियो । अन्तिम नतिजा घोषणा गर्दा संवैधानिक परिषद्का अध्यक्ष क्लेमेन्ट अटांगानाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताउनु भयो ।

    १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बियाले क्यामरुन जनवादी आन्दोलनको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ अब अर्को सात वर्षको कार्यकालको लागि देशमा शासन गर्ने तयारीमा हुनुहुन्छ ।

    स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार राजधानी याउन्डे र व्यावसायिक राजधानी डुआलामा सुरक्षा कडा पारिएको थियो । जहाँ आईतवार सुरक्षा बलले चार प्रदर्शनकारीहरूलाई गोली हानी मारेको थियो ।

    विपक्षी समर्थकहरू चुनावी धाँधली भनिएको विरोधमा सडकमा उत्रिएका थिए । संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले नतिजाको आधिकारिक घोषणा भएको १५ दिन भित्र शपथ लिनुपर्छ ।

    संसद, संवैधानिक परिषद् र सर्वोच्च अदालतका सदस्यहरूको उपस्थितिमा क्यामरूनियन जनताको अगाडि शपथ ग्रहण समारोह हुनेछ ।