शुक्रवार , बैशाख १०, २०७८
भैरहवा, १० वैशाख । पश्चिम नवलपरासीका युवा तथा किशोर किशोरीहरुले बाल विवाहविरुद्ध सशक्त रुपमा आवाज उठाउन थालेका छन् । उनीहरुले आफ्नो क्षेत्रमा बाल विवाह हुने जानकारी पाउनासाथ सम्बन्धित निकायमा खबर गरेर विवाह समेत रोक्न अभियान चलाएका छन् ।
सोही क्रममा सरावल गाउँपालिका वडा नम्बर ४ स्थित ठूलो बडसार टोलमा १५ वर्षिय एक किशोरीको विवाह हुन लागेको खबर पाएपछि प्रतिभा किशोर किशोरी सञ्जाल बालिका समृद्धि संवाद केन्द्रका किशोरीहरुलाई विवाह गर्ने उमेर हुनु अगावै हुन लागेको विवाह रोक्न माग गरेका छन् । विवाह रोक्न माग गर्दै किशोर किशोरीहरुले वडा कार्यालयमा निवेदन समेत दर्ता गराएका छन् ।
स्ट्रोम फाउण्डेशन र एबीसी नेपालको सहयोगमा नवलपरासी जिल्लाका संवाद कार्यक्रममा आबद्ध युवाहरुले बाल विवाहविरुद्ध आवाज उठाएको एबीसी नेपाल भैरहवाका क्षेत्रीय प्रबन्धक मनोज लामिछानेले बताए ।

त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको समन्वय, एबीसी नेपाल र स्ट्रोम फाउण्डेशनको सहयोग तथा बाग्मती सम्वाद केन्द्रमा आयोजनामा वडा पाल्हीनन्दन–३ बाल विवाहविरुद्ध र्याली कार्यक्रम गरिएको छ । त्यस्तै सम्वादमा आबद्ध युवा तथा किशोरीहरुले पोलहरुमा बाल विवाहविरुद्ध नाराहरु लेखिएका पम्पलेटहरु पोलपोलमा टांसेका छन् । ‘बाल विवाह गर्दैनौं, अरुलाई पनि बाल विवाह हुन दिदैनौ’ भन्दै अहिले नवलपरासीका युवाहरुले बाल विवाह रोक्न विभिन्न कार्यक्रमहरु गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij