बिहिवार , कार्तिक १३, २०८२
काठमाडौं, १३ कार्तिक । आठ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्नका लागि भारतले अनुमति नविकरण गरिएको छ।
नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि प्रस्ताव गरेको थियो । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रिय विद्युत प्राधिकरणले बुधवार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विक्री गरिरहेको छ ।
भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा विद्युत विक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण भएको हो ।
उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुनेगरी करिव एक वर्षका लागि नविकरण स्वीकृति भएको छ ।
यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिव १८० विद्युत विक्री भइरहेको थियो । हरियाण राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीवार सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन अक्टोबरमा हरियाणलाई विद्युत विक्री गर्दछ ।
प्राधिकरणले हरियाणालाई विद्युत विक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि विक्री अनुमति मागेको थियो । भारतको केन्द्रिय विद्युत प्राधिकरणले उक्त प्रश्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत शुक्रवारबाट आइएक्समा समेत निरन्तर रुपमा विक्री गर्न पाउने भएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनआइएसएको आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गर्नुभयो ।
उहाँले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नविकरणका लागि पठाइएका प्रश्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij