
कतिपयलाई हेलिकप्टरबाट काठमाडौँ पुराईयो
शुक्रवार , बैशाख १०, २०७८
बुटवल, १० बैशाख।
दोश्रो लहरको कोरोना संक्रमण तिब्ररुपले फैलिएसँगै लुम्बिनी प्रदेशका सबै कोभिड अस्पतालका बेडहरु भरिभराउ भएका छन्। बिश्वभर महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमण अत्यधिक बढेका कारण अस्पतालका आईसोलेसन् र आईसियु कक्ष बिरामीले भरिएको हो।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित धागो कारखाना कोरोना बिशेष अस्पताल, भैरहवास्थित भिम अस्पताल, दाङ्गको बेलझुण्डीस्थित कोभिड अस्पताल र बाँकेस्थित भेरी अस्पतालका सबै बेडहरु भरिभराउ भएको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ। कतिपय संक्रमितलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पुराइएको छ।
निर्देशनालयका अनुसार बुटवल धागो कारखाना कोभिड अस्पतालमा रहेका १३ वटा आईसियु बेड भरिएपछि भैरहवा भिम अस्पतालमा पठाइएको छ। जम्मा ५ बेड आईसियु र २२ बेडको एचडियु भएको भैरहवामा पनि बेड अभावपछि दाङ्ग र काठमाडौं रिफर गरिएको छ। बुटवलमा सामान्य आईसोलेसन बेड ४० रहेको छ।
संक्रमित बिरामीको संख्या बढ्दै गएपछि बेड संख्या अभाव हुन थालेको र बेड थप्ने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीले बताए। कोरोना कहरको दोश्रो लहर सुरुभएसँगै एक्कासी बिरामीको चाप बढ्न थालेपछि समस्या उत्पन्न भएको यद्यपी समस्या समाधानका लागि प्रयास भैरहेको डा. गिरीले बताएका छन्
दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा ३० वटा बेडमा कोरोना भाईरस संक्रमित विरामी रहेको बताइएको छ। बुटवल र नेपालगन्जबाट पठाइएका बिरामीका कारण चाप थेग्न हम्मे भैरहेको अस्पतालले जनाएको छ। बिरामीको चाप बढेपछि कतिपय हेलिकप्टर चार्टर गरेर काठमाडौं पुगेका छन भने कतिपय आर्थिक अभावमा छटपटिईरहेका छन्।
बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियु र एचडियुमा गरेर ३० जना संक्रमित उपचाररत छन्। सामान्य बेड सहित कुल १ सय ४२ बेड रहेको भेरीमा अस्पतालमा कोरोना संक्रमितले सबै वेड भरिएको अस्पतालले जनाएको छ।
संक्रमितले अस्पतालका सबै बेड भरिएपछि बेड थप्ने तयारी भैरहेको प्रदेश सरकारले जनाएको छ। प्रदेशका चारवटै कोभिड बिशेष अस्पतालमा बेड थप्ने र जनशक्ति ब्यबस्थापन गनेृ कार्य भैरहेको प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले बताएका छन्। तत्काल बेड नथपे स्थिती भयावह हुने भन्दै चौतर्फी दवावपछि प्रदेश सरकारले बेड थप्न र जनशक्ति ब्यबस्थापनका लागि आवश्यक तयारी गरेको हो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij