सोमवार , कार्तिक १७, २०८२
                                                                            भैरहवा, १७ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले चालु आर्थिक वर्षको साढे ३ महिनामा ८० लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत साउनदेखि कार्तिक १७ गतेसम्मको अवधिसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन कारवाहीबाट ८० लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले जेनजी आन्दोलनपश्चात पहिला गरिरहेको काममा केही ब्रेक लागेको बताउनुभयो । उहाँका अनुसार जेनजी आन्दोलनमा भएको तोडफोड र कागजनीबाट कार्यालयमा आंशिक रुपमा क्षति पुगेको छ । ‘तत्काल भौतिक रुपमा कार्यालय सञ्चालन गर्ने अवस्था थिएन । कार्यालय सञ्चालनका लागि आवश्यक उपकरणहरु पनि क्षति भएको र प्रहरी कर्मचारीको पोशाक जलेको र लुटिएको अवस्था थियो,’उहाँले भन्नुभयो ।
तर, विभिन्न सहयोगीदाता र व्यवसायीको सहयोगले कार्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । ‘कार्यालयमा क्षति पुगेको भए पनि हाम्रो सेवाग्राहीलाई सेवा दिनुपर्छ भनेर सेवा छिटो सञ्चालनमा ल्यायौं, ’प्रहरी निरीक्षक के.सी.ले भन्नुभयो ।
आन्दोलनको दौरान कार्यालयमा आएको समूहले तोडफोड र आगजनी गर्नुका साथै राडरगन, प्रोजेक्टर, प्रहरी कर्मचारीका मोबाइल, पोशाक लुटेको उहाँले जानकारी दिनुभयो । ‘केही महत्वपूर्ण कागजात र सवारीसाधन जोगाउन सफल भएका छौं, ’उहाँले भन्नुभयो।
भैरहवा बजारको मुख्य समस्या ई–रिक्सा व्यवस्थापन र पार्किङ रहेको उहाँले जानकारी दिनुभयो । बजार क्षेत्रमा पार्किङको अभाव रहेको र ई–रिक्साको संख्या पनि बढ्दै गएको उहाँले बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाले पार्किङ क्षेत्र छुट्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । बजार क्षेत्रको पार्किङ व्यवस्थापनमा नगरपालिकाले चासो देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी निरीक्षक के.सी.ले लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला रहेको जानकारी दिनुभयो । ‘दुर्घटना कम÷न्यूनीकरण गर्न चुनौतीको विषय रहेको उहाँको भनाइ छ । ‘यहाँको बाटोघाटो राम्रो छ, चालकको लापरवाही, सडकको इन्जिनियरिङको कमजोरी हुन सक्छ । यो अध्ययन गर्नुपर्ने विषय छ, ’उहाँले भन्नुभयो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । अहिलेको समयमा प्रविधिको विकासमा जोड दिदै तिलोत्तमा नगरपालिकाको समन्वयमा राडरगनसहितको क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । विभिन्न स्थानमा ट्राफिक लाईट पनि जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँगै स्थानीय तह, सडक विभाग, यातायात कार्यालय, यातायात व्यवसायी र सम्बन्धीत सबै निकाय जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । २०८१ भदौ १७ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी के.सी.को प्रहरी प्रधान कार्यालय काठमाडौंमा सरुवा भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij