२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

माछा मारेर जीविकापार्जन चलाउँदै र पर्यावरण संरक्षणमा टेवा पुर्‍याउँदै

बुधवार , कार्तिक १९, २०८२

  • 328
    Shares
  • 328
    Shares
  • भैरहवा, १९ कार्तिक । रुपन्देहीको कोटहीमाई क्षेत्रमा बिहानको घाम झुल्किदा नदीको पानी चम्किन्छ । त्यही चम्किलो पानीमा बहादुर मल्लाह आफ्नो बल्छी नदीमा फाल्नुहुन्छ । उहाँका हातहरूमा थकान छ । तर, अनुहारमा आत्मविश्वास देखिन्छ । ‘पहिला जतिको माछा छैन । तर, पेशा र रहरले यसैमा रमाउँछौं । दैनिक १ देखि २५ किलो माछा मारेर घरपरिवार र बजारमा पुर्याउँछौं,’उहाँले भन्नुभयो ।

    सूर्य अस्ताउँदै गर्दा, तिनाउ नदीको पानी सुनौलो बनेको हुन्छ । बल्छी फालेका हातहरू, डोरी हल्लाएका आँखा, थकित तर, सन्तुष्ट अनुहारहरू । मल्लाह भन्नुहुन्छ–‘हाम्रो प्रयासले नदीमा माछाको संख्या बढ्छ, जलचर सुरक्षित रहन्छ र हामी पनि हाम्रो परिवारको गुजारा चलाउँछौं ।’

    त्यही समय टंटलापुर घाममा मायादेवी गाउँपालिका–३ स्थित कन्हौलीका निजामुद्दीन मुसलमान छातामुनी बसेर डोरीमा नजर राख्नुहुन्छ । हरेक संकेतमा उहाँको ध्यान केन्द्रित हुन्छ । कहिलेकांही बिहानदेखि साँझसम्म बसेर पनि उहाँले केवल आफ्नो परिवारलाई खान पुग्ने जति माछा मात्रै पाउनुहुन्छ । तर, जब माछा बढी आउँछ, निजामुद्दीन आफ्नो खुशी आफन्तसँग बाँड्नुहुन्छ । त्यो खुसीमा समेटिएको संघर्ष र सहयोगले नदी किनार मात्र उहाँको जीवनको आधार हो भन्ने कुरालाई स्पष्ट देखाउँछ ।

    त्यस्तै कोटहीमाई–७ स्थित भँगहियाका अबु मुसलमानको शैली अली फरक छ । उहाँले गहुँ, माटो, भात र हिंग मिसाएर बनाएको लेदो डोरीमा बाँधेर पानीमा फाल्नुहुन्छ । माछा लेदो खान आएपछि डोरीमा अड्किन्छ र उहाँले सावधानीपूर्वक तानेर बाहिर निकाल्छन् । मुसलमान भन्नुहुन्छ–‘हाम्रो माछा मार्ने प्रयास केवल जीविकोपार्जन होइन, यो हाम्रो परिवारको जीवनरेखा पनि हो ।’

    कोटहीमाई–५ स्थित दुईमोहान क्षेत्रमा तेलियागढ, बोगदिया, बेतकुइया, हर्दी, भैसागहन, भँगहिया, परसहवा, मझगावाँ लगायतका गाउँ/टोलबाट मानिसहरू दैनिक माछा मार्न यहाँ आउँछन् । हरेकको आफ्नै तरिका फरक छ-कँटिया, जाल वा फन्नी । तर, सबैको उद्देश्य एउटै छ ः परिवारको पेट भर्ने, जीवनको आशा जगाउने ।

    तर, यी माछा मार्नेहरूले केवल परिवारको पेट भरिरहेका छैनन् । माछा दिवसको अवसरमा विभिन्न जातका माछाको भूरा नदीमा छोड्दा, नदीको पारिस्थितिकी प्रणाली सन्तुलित रहन्छ । तिनाउ नदीमा विभिन्न प्रकारका माछा पाइन्छन् । प्राविधिक सहयोगमा अम्लिहान र झुम्साबाट एकपटकमा मात्र १५ हजार माछाका भूरा नदीमा छाडिएका थिए, जसले नदीमा जीवन्त जलचर प्रणाली कायम राख्न सहयोग गरेको छ ।

    तिनाउ नदीका माछा मार्नेहका संघर्ष र समर्पण केवल जीविकोपार्जनको कथा होइन । यो मानव र प्रकृतिबीचको सह–अस्तित्व, समर्पण र जीवनको संघर्षको कथा हो, जहाँ प्रत्येक डोरी, प्रत्येक बल्छी र प्रत्येक माछाले जीवन र आशाको सन्देश बोकेको छ ।