बुधवार , कार्तिक १९, २०८२
भैरहवा, १९ कार्तिक । जे.भी. फाउण्डेशन राष्ट्रिय समिति, लुम्बिनी प्रदेश कार्यालयको बुधबार उद्घाटन गरिएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पडसरीमा स्थापना भएको प्रादेशिक कार्यालयको समाजसेवी तथा संस्थाका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश वैद्यले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्नुहुँदै प्रा.डा. वैद्यले संस्थाको प्रदेश र जिल्ला कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।
त्यस्तै फाउण्डेशनका केन्द्र्रीय प्रवक्ता सह–प्राध्यापक डा. हरिकृष्ण दाहालले जे.भी. फाउण्डेशन पृथक ढंगको संस्था भएको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुले स्वयं योगदान गरी सामाजिक कार्यमा निस्वार्थ रुपमा समर्पित हुँदै आएको बताउनुभयो । ‘२०३५ सालदेखि बागमतीबाट केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश वैद्यले सरसफाई अभियानबाट संस्थाको सुरुवात गर्नुभयो । २०५० सालमा बाढीपहिरो पीडितलाई उल्लेखनीय सहयोग गरेवापत नेपाल सरकारले उहाँलाई विभूषित गर्यो, प्रा.डा. वैद्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान छ, ’उहाँले भन्नुभयो ।

जे.भी. फाउण्डेशनका केन्द्रीय उपाध्यक्ष दीपकराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका रुकुम जिल्ला अध्यक्ष गोपाल पौडेल, रुपन्देही जिल्ला अध्यक्ष ज्ञानेश श्रेष्ठ, सचिव रविराज काफ्ले लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij