शनिवार , कार्तिक २२, २०८२
भैरहवा, २२ कार्तिक । मर्निङ क्रिकेट क्लब, भैरहवाको आयोजनामा सम्पन्न सुपर सिक्स क्रिकेट टुर्नामेन्टको उपाधि अजय च्यालेन्जर्सले जितेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगर मिल क्रिकेट मैदानमा भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा शैलेष–११ लाई ९ रनले पराजित गर्दै अजय च्यालेन्सजर्सले उपाधि जित्न सफल भएको हो ।
टस जितेर ब्याटिङ रोजेको अजय च्यालेन्जर्सले ७ विकेट गुमाउँदै ६४ रनको योगफल बनायो । उसका लागि अजमतले २३, सनोज र आयुसले ८–८ रनको योगदान गर्नुभयो । बलिङमा शैलेश–११ का विजयले ३, दुर्गेशले २, शैलेश र बादलले १–१ विकेट लिनुभयो । जवाफमा शैलेश–११ ले ६ विकेटको क्षतिमा ५४ रन मात्र बनायो । उसका लागि डी.के.ले २५ रनको योगदान गर्नुभयो । बलिङमा अजय च्यालेन्जर्सका सनोजले २, प्रमोद र सुदीपले १–१ विकेट लिनुभयो ।
प्रतियोगितामा ३९ रन र २ विकेट लिनुभएका सनोज हरिजन म्यान अफ द सिरिज ९६ रनको योगदान गर्नुभएका राहुल बेस्ट ब्याट्सम्यान र ३ विकेट लिनुभएका विजय धरिकार बेस्ट बलर घोषित हुनुभएको छ ।
प्रतियोगितामा अजय च्यालेन्सजर्स, दामोदर वारियर्स, सन्तोष सुपर इलेभन, इमरान नाईट राईडर्स, अकबर हिरोज र शैलेश–११ गरी ६ वटा टीमको सहभागीता थियो । प्रतियोगिता नकआउटमा फरम्याटमा खेलाइएको थियो ।
प्रतियोगिताको विजेता र उपविजेतालाई नगद, ट्रफी तथा मेडल प्रदान गरिएकोे थियो । त्यस्तै म्यान अफ द सिरिज, ह्याट्रीक विकेट लिने खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको कोषाध्यक्ष दामोदर शर्माले बताउनुभयो ।
प्रतियोगिताको युवा समाजसेवी कृष्ण मल्ल ठकुरीले ब्याटिङ र आयोजक क्लबका अध्यक्ष अजय यादवले बलिङ गरेर उद्घाटन गर्नुभएको हो । प्रतियोगिता सुरु हुनुअघि खेलाडीहरुलाई टिसर्ट वितरण गरिएको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि कृष्ण मल्ल ठकुरीले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
‘खेलाडीहरुलाई वितरण गरिएको टिसर्ट केवल कपडा मात्र नभइ यो हाम्रो एकता, जोश र समर्पणको प्रतीक हो,’उहाँले भन्नुभयो–‘यसले हामीलाई मैदानमा अझ अनुशासित, आत्मविश्वासी र गौरवपूर्ण बनाउँछ भन्ने महसुस गरेको छु ।’ उहाँले क्लबका पदाधिकारी, सदस्य र प्रशिक्षकको पहलले यो कार्यक्रम सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij