२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

रोटरी बुटवल चौतारीद्वारा रक्तदान, १०१ युनिट रगत संकलन

आइतवार , कार्तिक २३, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • बुटवल, २३ कार्तिक । रगतको अभाव बढ्दै गएको समयमा रोटरी क्लब अफ बुटवल चौतारीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘जीवन बचाऔं, रक्तदान गरौं’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा १०१ युनिट रगत संकलन गरिएको छ ।

    रोट्रयाक्ट क्लब अफ बुटवल चौतारी र रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीसँगको सहकार्यमा सम्पन्न कार्यक्रमले समुदायमा रक्तदानप्रति सकारात्मक सन्देश फैलाएको आयोजकले बताएका छन् । 

    रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष राजु अधिकारी, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेलगायत क्लबका पदाधिकारी र सदस्यहरूको सहभागीता थियो।
    रक्तदान कार्यक्रमका संयोजक बासुदेव भुसालका अनुसार हालका दिनहरूमा बुटवल क्षेत्रका अस्पतालहरूमा रगतको चरम अभाव देखिएको हुँदा क्लबले सामूहिक पहलमार्फत बृहत रक्तदानको आयोजना गरेको हो ।

    क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले भन्नुभयो–‘रगतको अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । समाजको आवश्यकता अनुसार रोटरी क्लब सधैं सेवामुखी कार्यमा अग्रसर रहन्छ ।’

    कार्यक्रममा सहभागी निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले पनि रगतदानलाई क्लबको नियमित सामाजिक जिम्मेवारीको रूपमा निरन्तरता दिइने बताए । उहाँले भन्नुभयो–‘गत वर्ष हामीले १६८ युनिट रगत संकलन गरेर सम्मान प्राप्त गरेका थियौं । यस वर्ष पनि उत्साहजनक सहभागीताले हाम्रो प्रयास सफल भएको छ ।’

    रक्त सञ्चार केन्द्र बुटवलले कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो । क्लबका पदाधिकारीहरूले केन्द्रप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    रोटरी क्लब अफ बुटवल चौधरीले विगतदेखि नै स्वास्थ्य, शिक्षा र सामाजिक सेवासँग सम्बन्धित विभिन्न जनकल्याणकारी कार्यक्रम गर्दै आएको छ । यसपटकको रक्तदान अभियानले स्थानीय युवाहरूमा सेवा भावना र सामाजिक उत्तरदायित्वप्रतिको चेतना झनै बढाएको सहभागीहरूले बताएका छन् ।

    रक्तदान कार्यक्रमका संयोजक वासुदेव भुसाल सञ्चालक रहेको हाइलाइफ एग्रो एण्ड फुड इण्डष्ट्रिज लिमिटेडले कार्यक्रममा ठूलो सहयोग पुर्याएको भन्दै क्लवले धन्यवाद दिएको छ ।