२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लोकतन्त्र स्थापनामा संचार क्षेत्रको भूमिका महत्वपूर्ण : भरत शाह

शनिवार , बैशाख ११, २०७८

सैनामैना, ११ वैशाख । 
सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले शनिबार रुपन्देहीको सैनामैना ११ बनकट्टीमा साझा टेलिभिजनको नयाँ भवन शिलान्यास गरेका छन् । साझापत्र मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित साझा टेलिभिजनले एक वर्ष अघिदेखि परीक्षण प्रसारण गरिरहेको छ ।

भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभापति शाहले साझा टेलिभिजनले नयाँ भवन बनाउन लागेकोमा खुशी प्रकट गर्दै टेभिभिजनको सफलताको शुभकामना दिए  । उनले नयाँनयाँ प्रविधिको विकास भइरहेको आधुनिक युगमा टेलिभिजन एउटा समाज परिवर्तन गर्ने सशक्त माध्यम हो भन्दै यस क्षेत्रको विकासमा साझा टेलिभिजनले योगदान दिने विश्वास व्यक्त गरे । उनले राज्यका गतिविधिमा निरन्तर निगरानी गर्ने चौथो अंग सधै वाच डगको भूमिकामा हुने भन्दै आगामी दिनमा सही र सत्यतथ्य सूचना बाहिर ल्याउने सन्दर्भमा चौथो अंगको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

लोकतन्त्र ल्याउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै सभापति शाहले सरकारले गलत गरेको अवस्थामा संचार क्षेत्रले सरकारलाई सचेत र खबरदारी गर्नुपर्ने बताए । उनले सरकारले सूचना लुकाउने र चौथो अंगले सरकारले गरेका गलत काम बाहिर ल्याउने भएकोले सरकारलाई खबरदारी गर्न पनि पत्रकारिता क्षेत्रले अझै सक्रियता देखाउनु आवश्यक रहेकोमा जोड दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले रुपन्देहीको ग्रामिण क्षेत्रमा साझा टेलिभिजनको स्थापनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै जनतालाई सूचित गर्ने अभियानमा सफलता मिलोस् भन्ने शुभकामना दिए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले साझा टेलिभिजनले रुपन्देहीको ग्रामीण क्षेत्रको विकासमा टेलिभिजनको माध्यमबाट फरक पहिचान दिन सकोस् भन्ने शुभकामना दिए । उनले लोक कल्याणकारी कार्यक्रम प्रसारणमा टेलिभिजनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सबै पक्षलाई समेटेर सवैको साझा बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साझा टेलिभिजनका प्रबन्ध निर्देशक भुवन जिसीले सवैको सहयोगले साझा टेलिभिजनले स्थापनाको एक वर्षमै भवन शिलान्यास गर्न सफल भएको बताउँदै यस क्षेत्रको सूचना तथा समाचार प्रसारणमा टेलिभिजनले प्राथमिकता दिने बताए ।

शिलान्यास कार्यक्रमको अध्यक्षता गर्दै टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले टेलिभिजनलाई सवैको साझा वनाउने प्रतिवद्धता जनाउँदै साझा टेलिभिजनको नाम जस्तै काम पनि साझा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

टेलिभिजनले आगामी असोजभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । साझा टेलिभिजनका समाचार वाचक सुरेन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।