बिहिवार , कार्तिक २७, २०८२
काठमाडौं, २७ कार्तिक । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरुको नेशनल आइडी कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताउनुभएको छ ।
जेन–जी प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिनुभएको हो ।
उहाँले अहिले धेरै नागरिकहरुले नेशनल आइडी कार्ड बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताउनु भयो । नेशनल आइडी कार्ड बनाइसकेका नागरिकहरु भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ ।
यसले जेन–जीका मागहरु सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताउनु भयो । अध्ययन वा कामका लागि विदेशमा रहनुभएका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरुले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ ।
त्यसले तपाईंहरुका सबै मागलाई सम्बोधन गर्दछ । अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कुटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ ।
उहाँहरुले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरुले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।’
उहाँले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भएपनि पछिल्लो समय धेरै चाप रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij