२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

बुटवल हस्पिटलमा रक्तदान, १०१ यूनिट रगत संकलन

शुक्रवार , कार्तिक २८, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, २९ कार्तिक । यस क्षेत्रमा रगतको अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा १०१ युनिट रगत संकलन भएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।

    वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुईपटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो ।
    अस्पताल परिसरमा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । एक पोका रगतले बिरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान अत्यन्तै महत्वपूर्ण सामाजिक कार्य भएको उहाँको भनाइ थियो ।

    कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, मेडिकल सुपरीटेण्डेण्ट डा. कृष्ण प्रसाद खनाल, वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक, नेपाल रेडक्रस सोसाएटी रक्त सञ्चार सेवा केन्द्रकी संयोजक राधा शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान लगायतले रगतको महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, बिरामीका आफन्त तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदानमा सहभागिता जनाएका थिए ।

    आजभन्दा २५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रा.लि.मा हाल करिब ३ सय कर्मचारी कार्यरत छन् । दक्ष जनशक्ति, अत्याधुनिक प्रविधियुक्त उपकरण तथा सुविधासम्पन्न भौतिक संरचनाको संयोजनका कारण बिरामीहरूको उपचार सेवा प्रभावकारी र सहज बनेको छ ।