२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

एसिया क्वालिफायर खेल्न जाने यु–१९ क्रिकेट टीमलाई बिदाई

आइतवार , कार्तिक ३०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ३० कार्तिक । युएईमा आयोजना हुने एसिया क्वालिफायर क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टीमलाई आइतबार बिदाई गरिएको छ । आइतबार भैरहवामा आयोजित एक समारोहकाबीच रुपन्देही क्रिकेट संघले खेलाडी र प्रशिक्षकलाई बिदाई गरेको हो । एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० तारिखसम्म युएईमा एसिया क्वालिफायर हुँदैछ ।
     
    यु–१९ का ३० जना खेलाडीले पछिल्लो १५ दिन सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रशिक्षण लिएका थिए । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा युएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टीम घोषणा गर्दैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनोट भइसके पनि क्यानले अझै आधिकारिक घोषणा भने नगरेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले बताउनुभयो ।
     
    बिदाई कार्यक्रममा प्रशिक्षक श्रेष्ठले छोटो समयमा भए पनि राम्रो रंगशालामा प्रशिक्षण लिइएको बताउनुभयो । उहाँले आफूहरुको लक्ष्य एसिया कपका लागि छनोट हुने मात्र नभइ क्वालिफायरमा विजेता बन्ने रहेको जानकारी दिनुभयो । यसका लागि खेलाडीहरु उच्च मनोबलमा रहेको उहाँले बताउनुभयो ।
     
    बिदाई कार्यक्रममा पञ्चकन्या समूहका उपाध्यक्ष तथा वरिष्ठ उद्योगपति ध्रुव कुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, क्यानका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, कार्यसमिति सदस्य प्रथम पराजुलीलगायतले बोल्दै उच्च बनोबलका साथ प्रदर्शन गरेर छनोट खेलको विजेता बन्न शुभकामना दिनुभयो ।
     
    उहाँहरुले कुनै समय क्रिकेटमा भविष्य छैन भन्ने दिन रहेको स्मरण गर्दै अहिले क्रिकेट खेल सबैको मनमा बसेको बताउनुभयो । क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको बताउँदै राम्रो खेल्ने खेलाडीको भविष्य उज्ज्वल रहेको उहाँहरुको भनाइ छ ।
     
    पशिक्षणका क्रममा ३० जना खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर आन्तरिक प्रतिष्पर्धा समेत गराइएको थियो । उनीहरुबाट उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिएको भए पनि नाम भने अझै सार्वजनिक गरिएको छैन ।
     
    यसैबीच एसिया क्वालिफायरमा विजेता बने यु–१९ टीमलाई रुपन्देही क्रिकेट संघले १ लाख १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । खेलाडी बिदाई कार्यक्रममा संघका अध्यक्ष हरि बहादुर थापाले उक्त घोषणा गर्नुभएको हो । त्यसै गरी पञ्चकन्या समूहले पनि विजेता बने टीमलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।