२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचितलाई सम्मान

आइतवार , बैशाख १२, २०७८

बुटवल, १२ वैशाख ।
नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियन रुपन्देहीबाट निर्वाचित भएकाहरुलाई नेपाल प्रेस युनियन रुपन्देहीले सम्मान गरेको छ । प्रेस युनियन रुपन्देहीले आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा जिल्लाबाट जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचितलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीमा युनियनबाट अध्यक्षमा रामराज पोख्रेल, उपाध्यक्षमा विश्वास ढकाल तथा सदस्यहरुमा हरिकला अधिकारी, राधेश्याम विश्वकर्मा, सलमान खान, प्रदिप आचार्य र नविन घिमिरे निर्वाचित भएका थिए । त्यसै गरी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा भवानी प्रसाद पाण्डे तथा लुम्बिनी प्रदेशको महासचिवमा विक्रम खड्का र प्रदेश सदस्यमा मीना ढकाल निर्वाचित भएका थिए ।

नेपाल पत्रकार महासंघको हालै भएको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समुह), प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघले चुनावी तालमेल गरेका थिए । विजयी भएकाहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवसायिक पत्रकारितालाई जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले लोकतन्त्र र संविधानको रक्षा तथा न्यायको पक्ष कलम चलाउन र त्यसै अनुसारको वातावरण बनाउनको लागि महासंघका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरे ।

त्यसै गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, युनियनका सल्लाहकार तथा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले दुई दशकपछि रुपन्देहीमा महासंघको नेतृत्व लोकतन्त्रवादीको हातमा आएको स्मरण गर्दै लोकतन्त्रलाई बलियो बनाउने काममा कृयाशिल हुन नवनिर्वाचित नेतृत्वलाई आग्रह गरे । प्रदेशको संरचना नयाँ भए पनि केन्द्रमा समेत रुपन्देही जिल्लाबाट प्रतिनीधि पाउन सफल भएको भन्दै उनले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

नवनिर्वाचित केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे र रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेलले पत्रकारहरुको व्यवसायिक हकहितसंगै स्वास्थ्य सुरक्षासहितको व्यबसायिक पत्रकारितालाई जोड दिइने प्रतिवद्धता व्यक्त गरे ।

प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार तथा लुम्बिनी प्रदेश समितिका सचिव हरिश ढकाल, सल्लाहकार माधव नेपाल, युनियन रुपन्देहीका उपसभापति कबिन्द्र नेपाल, सचिव श्यामशंकर पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।