२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट’ मंसिर १२ देखि

बुधवार , मंसिर १०, २०८२

  • 526
    Shares
  • 526
    Shares
  • भैरहवा, १० मंसिर । १२ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट’  प्रतियोगिता यही मंसिर १२ गतेदेखि हुने भैरहवामा भएको छ । आयोजक संस्था रुपन्देही क्रिकेट संघले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । 

    पुस १ गतेसम्म चल्ने प्रतियोगिताका लागि पर्वत ज्वेलर्स भैरहवाका सञ्चालक विमल सेन्चुरीले प्रायोजन गर्नुभएको छ । आफ्ना हजुरबुवा स्वर्गीय शेरबहादुर सेन्चुरीको स्मृतिमा सेन्चुरीको प्रयोजनमा विगतदेखि यो प्रतियोगिता हुँदै आएको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयको सहभागीता रहने प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष विगतका वर्षमा भन्दा ६ वटा विद्यालयको सहभागीता बढेको छ । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरु सहभागी हुन पाउनेछन् ।

    प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टीमलाई पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक मल्लिकले बताउनुभयो ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । उहाँले हरेक वर्ष सिजनको पहिलो प्रतियोगिता विद्यालय तहको गराउँदै आएको बताउँदै यसले रुपन्देहीमा खेल प्रतिभाहरुको उजागर भइरहेको बताउनुभयो । विद्यालयस्तरमा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन यो प्रतियोगिताले महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ ।

    प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।