
सोमवार , बैशाख १३, २०७८
तिलोत्तमा, १३ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा वडा नम्बर ५ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको राष्ट्रिय सभाका सदस्य तथा नेकपा एमालेका नेता गोपाल भट्टराईले आइतबार उद्घाटन गरेका हुन् ।
अपांगतामैत्री तथा बालमैत्री तबरले सुब्यबस्था गरी बनाइएको आधुनिक भवनमा स्तरीय तथा ठूला ६ वटा कोठा छन् । करिब कुल ८० लाख २९ रुपैयाँको लागतमा भवन निर्माण गरिएको सो भवनको शिलान्यास नेकपा एमालेका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य तथा एमालेका नेता गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालय बनिसकेको र केही मात्रै बाँकी रहेकोमा खुशी व्यक्त गर्दै भौतिक संरचना जस्तो कुराको विकास समयमै हुनु ठुलो कुरा भएको बताए । उनले हाल कोभिडका कारण पहिले निर्माण सम्पन्न हुनुपर्ने भवन निर्माण सुरु हुने बेर लागेको भए पनि सुरु भएपछि निकै छोटो समयमै निर्माणसम्पन्न भएको बताए । भवन निर्माण सम्पन्न भएपछि वडा नम्बर–५ का वडावासी र नगरवासी खुशी भएको उनले बताए । भवन जस्तै सुन्दर तरिकाले अब जनताको सेवा सहजतालाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेत नारायण भण्डारीले भवन निर्माण सुरुदेखि सम्पन्न हुँदासम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भवन छोटो अवधिमै निर्माणसम्पन्न भएको भन्दै अबको आफ्नो मिसन सहज तबरको सेवा, बालमैत्री, अपांगता मैत्री, ज्येष्ठ नागरिकको पहुँच र सबै वडाबासीहरुको सेवामा खर्चिने बताए । पुरानो वडा कार्यालयबाट दिइने सेवा वैशाख १२ गतेदेखि भवन उद्घाटनकै दिनदेखि नयाँ कार्यालयमा सेवा सुचारु गरिएको उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिका–५ का वडा सदस्य गायत्री पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरी देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा सदस्य हरि पौडेल, वडा अध्यक्ष एवं प्रतिनिधि, कर्मचारी, स्थानीय उद्योग व्यवसायी, टोल विकाश संस्था, आमा समूह, बाल समुह, ज्येष्ठ नागरिक समूह लगायतको उपस्थिति रहेको थियो । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij