२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रुपन्देहीको मोक्षधाममा चारधामसहित रामजानकी मन्दिर र बौद्ध स्तुपा शिलान्यास

सोमवार , बैशाख १३, २०७८

बुटवल, १३ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित पश्चिम पहुनीमा रहेको मोक्षधाममा चार धामसहित नेपालका रामजानकी र लुम्बिनी बौद्ध स्तुपाको शिलान्यास गरिएको छ । पुराणमा उल्लेख भए अनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपाको शिलान्यास गरिएको हो ।

पूर्वाधार निर्माणमा एक अर्ब भन्दा बढी लागत अनुमान गरिएको ती मन्दिरहरुको पूर्वमन्त्री तथा प्रतिनिधिसभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज लगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । त्यस अवसरमा बोल्दै खांणले मोक्षधामको पूर्णताले त्यस क्षेत्रको मात्रै नभएर सिंगो रुपन्देही र आसपासका जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । त्यसका लागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयोगको समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर पृथ्वीमा स्वर्गको अभाष हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवी देवताका विग्रहरु स्थापित गरिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणी प्रसाद पाठकले जानकारी दिए ।

ती ६ वटा धाम निर्माणको लागि करिब १ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । शिलान्यास कार्यक्रममा सन्त महन्त, जनप्रतिनीधि, राजनीतिज्ञ, समाजसेवी, व्यवसायी, उद्योगी तथा भक्तजनहरुको सहभागिता रहेको थियो ।

त्यसै गरी निर्माणसम्पन्न भएको मुक्तिनाथ मन्दिर, १ हजार १०८ शिवलिंग द्वादश ज्योतिर्लिङगसहित विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्संग कक्ष) भवन, बृद्धा तथा बाल आश्रम, सभा हलको समेत उद्घाटन गरिएको छ । 

अनेकौं देवीदेवताहरुको विग्रह स्थापना गरी शनातन वैदिक धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरिएको थियो । २०७२ देखि निर्माण सुरु गरिएको मोक्षधाम सेवा आश्रममा हालसम्म राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंग तथा १ हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा बृद्धाश्रम, मुक्तिनाथ मन्दिर, सभाहल निर्माण गरिसकिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै सरदर ६ करोड रुपैयाँ खर्च भएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष नारायण वञ्जाडेले बताए ।