२०८२, मंसिर २० गते

Dec 06 2025 | २०८२, मंसिर २० गते

उच्च सरकारी वकील कार्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

शनिवार , मंसिर २०, २०८२

  • 157
    Shares
  • 157
    Shares
  • बुटवल, २० मंसिर । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त उच्च सरकारी वकील कार्यालय, बुटवललाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । 

    कार्यक्रममा डिष्ट्रिक गभनर बालाराम भट्टराईले जनताको सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको कार्यालय सुचारु गर्न लायन्सबाट सहयोग गरिएको बताउनुभयो । आगजनीपछि आफ्नो मुद्दा तथा सेवा–प्रवाहमा असर परिरहेको कार्यालयलाई यसले संस्थागत काम सुचारु गर्न सहज हुनेमा आशावादी रहेको उहाँको भनाइ छ । विश्वका २ सय भन्दा बढी राष्ट्रमा क्रियाशील सदस्यहरु रहेको लायन्सको आफनै पहिचान रहेको उहाँले बताउनुभयो । 

    आँखा, मधुमेह, अटिजम, बल्डबैंक, दाँतमा काम गर्दै आएको लायन्स नेपालमा भूकम्पपछि १८ विद्यालय निर्माण गरेर उपलब्धी हासिल गरेको उहाँले बताउनुभयो । यसका साथै शिक्षा, स्वास्थ्य र समुदायका क्षेत्रमा निरन्तर सेवा दिइरहेको उहाँले उल्लेख गर्नुभयो । 

    कार्यक्रममा उच्च सरकारी वकील कार्यालयका उप–न्यायाधिवक्ता प्रकाश मरासिनीले आगजनीपछि चुनौतीपूर्ण अवस्थामा प्राप्त आएको यो सहयोगले कार्यालयका दैनिक सेवा, मुद्दा दर्ता तथा प्रविधि आधारित कामलाई द्रुत रूपमा सामान्य अवस्थामा फर्काउन मद्दत गर्ने बताउनुभयो । उहाँले न्यायिक सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले गरिएको सहयोगबाट सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने समेत जानकारी दिनुभयो । 

    आगजनीको क्रममा कार्यालय भवनको दक्षिणतर्फको भागमा बढी क्षति भएको छ । त्यसै गरी १० वटा कम्प्युटर, फाईलसहितका दराजहरु समेत जलेका छन । यसले सेवाप्रवाहलाई केही समय समस्या पारेको थियो । 

    कार्यक्रममा उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले हालैका घटनाबाट धेरै न्यायिक संरचना प्रभावित भएको भन्दै २३ वटा अदालतसहित विभिन्न सरकारी संरचना जल्दा यसबाट समस्या देखिएको बताउनुभयो । उहाँले न्यायीक क्षेत्रमा प्रविधिमैत्री पूर्वाधार अत्यावश्यक भएको उल्लेख गर्दै लायन्स क्लबको सहयोग सराहनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा लायन्स इन्टरेशनल डिष्ट्रिक ३२५ पी का निवर्तमान गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, फस्ट भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) सन्दीप कसौधन, उप–न्यायाधिवक्ता विष्णुप्रसाद आचार्य, पूर्व गभर्नर अर्जुमान सैजु, एरिया–३ का चिफ कृष्ण पाण्डे, सरकारी वकिल कार्यालयका अधिकृत बुद्धि प्रसाद पराजुली लगायत उपस्थिति थियो ।