२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

चारसय होटललाई आइसोलेशन र क्वारेन्टिन बनाउँछौं : होटल व्यवसायी संघ रुपन्देही

सोमवार , बैशाख १३, २०७८

बुटवल, १३ वैशाख ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले कोभिड–१९ को दोस्रो चरणको महामारी फैलदै गएसंगै जिल्लाका चारसय बढी होटलहरुलाई आइसोलेशन र क्वारेन्टिन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको जनाएको छ । 

संघले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर एक हजार बढी कोभिड संक्रमितहरुलाई राख्न सक्ने गरी तयारी गरेको जनाएको छ । संघको पदाधिकारीको आकस्मिक बैठकले सरकारलाई आवश्यक परेका जिल्लाका होटलहरु उपलब्ध गराउन सक्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष राम प्रसाद गौतमले कोभिडको महामारीमा व्यवसायीहरुलाई राहात प्रदान गर्न सरकारले गत वर्ष नै घोषणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्डको चार्ज मिनाहा गर्ने निर्णय गरे तापनि विद्युत प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जान जरुरी रहेको औल्याए ।

संघले कोभिडको महामारीको अग्रभागमा खटिने होटल व्यवसायी र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय समेत गरेको छ । स्थानीय तहसंग सहकार्य गरी कोभिडविरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ । संघले कोभिड संक्रमित भएका एकहजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम शुल्कमा राख्न सक्ने गरी तयारी गरिएको र बैठकबाटै सो को निर्णय समेत गराएको महासचिव माधव कुमार खनालले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र करिब ४० अर्ब भन्दा बढी लगानी रहेको छ । पछिला दिनमा स्तरीय होटल तथा रिसोर्ट खोल्ने क्रम निकै बढे पनि कोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले उनीहरुको लगानीका सुरक्षाका लागि सरकारले व्यवसायिक ऋणमा सहुलियत र व्याज मिनाहा जस्ता राहतका कार्यक्रम संचालन गर्न जरुरी व्यवसायीको माग रहेको छ ।