२०८२, मंसिर २७ गते

Dec 13 2025 | २०८२, मंसिर २७ गते

पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः खरेल

शनिवार , मंसिर २७, २०८२

  • 754
    Shares
  • 754
    Shares
  • बुटवल, २७ मंसिर । पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । यातायात व्यवसायी र मजदूरको हित र संरक्षण गर्ने उद्देश्यले वि.सं. २०७८ सालमा सो सहकारी संस्थाले स्थापनाको छोटो अवधिमै ३ हजार ३ सय भन्दा बढी शेयर सदस्य र ९ करोड बढीको आर्थिक कारोबार गर्न सफल भएको छ ।  

    कार्यक्रममा वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दधिराम खरेलले कार्तिक मसान्तसम्म १ करोड ६६ लाख १७ हजार २ सय शेयर पूँजी र ७ करोड २४ लाख ९७ हजार ३ सय ६७ रुपैयाँ निक्षेप संकलन गरेको बताउनुभयो । साथै समीक्षा अवधिमा संस्थाले आर्जन गरेको ब्याजसमेत कुल पूँजी ९ करोड ६२ लाख ९७ हजार १ सय ८१ रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो । बस व्यवसायी र यातायात मजदूरले जीवनको उत्तरार्धमा आर्थिक विपन्नताको शिकार हुन नपरोस् भनेर यो विशिष्ट प्रकारको सहकारी संस्था स्थापना गरिएको उहाँको भनाइ थियो । 

    पश्चिम नेपाल बस व्यवसायी संघका पूर्वअध्यक्ष तुलसीराम बन्जाडेले यातायात व्यवसायी र मजदूरका परिवारको सामाजिक सुरक्षा लगायतका हकहित संरक्षण र आर्थिक योगदान पुर्याउने उद्देश्यले सहकारी स्थापना गरिएको बताउनुभयो । यातायात व्यवसायी र मजदूरको जीवनमा संकट आइपर्दा अभिभावक बनेर उनीहरुको परिवारलाई बिचल्ली हुनबाट रोक्ने मूल लक्ष्य रहेकोमा उहाँको जोड थियो । 

    प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले मासिक १ हजार ५ सय रुपैयाँको दरले जम्मा गरेको बचतले पनि कालान्तरमा परिवारमा विपत्ति आउँदा ठुलो राहत प्रदान गर्ने कुरा बताउनुभयो । शेयर सदस्यको जीवनमा कुनै पनि प्रकारको दुर्घटना भइ निधन भएमा वा घाइते भइ काम गर्न नसक्ने भएको अवस्थामा सहकारीले निजको परिवारका लागि राहतको एउटा महत्वपूर्ण आधार बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

    संस्थाका सचिव जितेन्द्र खत्रीले सहकारीमा आबद्ध हुन सबै व्यवसायी र मजदूरका परिवारलाई समेत आग्रह गर्नुभयो । उहाँले शेयर सदस्यहरुको हितमा नाफामुखी व्यवसाय प्रवद्र्धन गर्दै बहुउद्देश्यीय परियोजनाहरु सञ्चालन गर्ने जमर्को समेत गरिएको उल्लेख गर्दै सचिव खत्रीले सहकारीको सिद्धान्त र भावना समेट्दै आयआर्जन पनि बढाउँदै लैजाने खालका परियोजना सञ्चालन गरिने बताउनुभयो ।

    सो अवसरमा निर्वाचन समितिकोतर्फबाट मोहन पिएस, यातायात मजदूर संघ संगठनकातर्फबाट कृष्ण कंडेल, महिला शेयर सदस्य राधिका सिग्देल, प्रा.लि.का कर्मचारी मधुसुधन अधिकारी लगायतले यातायात व्यवसायी, मजदूर र कर्मचारीका समस्या तथा समाधानका उपायहरुबारे चर्चा गरेका थिए । संस्थाले समीक्षा अवधीमा ४ जना यातायात व्यवसायी, मजदूर र कर्मचारीको निधनपश्चात परिवारलाई १५ देखि २२ लाखसम्म राहत रकम उपलब्ध गराइसकेको छ । 

    यसैबीच सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा दधिराम खरेल पुनः सर्वसम्मत रुपमा चयन हुनुभएको छ । उपाध्यक्षमा जीवन कुमार बन्जाडे, सचिवमा जितेन्द्र खत्री, कोषाध्यक्षमा नारायण भण्डारी पनि सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद भट्टराईले बताउनुभयो । 

    त्यस्तै सदस्यहरुमा मन्जु बस्नेत क्षेत्री, कृष्ण प्रसाद न्यौपाने, राजेन्द्रकुमार पौडेल, विष्णु प्रसाद पाण्डे, खुमा अधिकारी पनि सर्वसम्मत चयन हुनुभएको उहाँले जानकारी दिनुभयो । त्यसै गरी लेखा समिति संयोजकमा संजयकुमार मुडभरी, सदस्यहरुमा रन्जित खनाल र मिना भट्टराई ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको उहाँको भनाइ छ ।