शनिवार , मंसिर २७, २०८२
भैरहवा, २७ मंसिर । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ भैरहवा, रुपन्देहीले शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ । साथै संघले वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख (प्रहरी निरीक्षक) मान बहादुर वि.सी.लाई स्वागत तथा सम्मान गरेको छ ।
‘रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्माले बताउनुभयो । उहाँले रगतले जात, धर्म, वर्ण, भाषा र संस्कृति केही नहेर्ने बताउनुभयो । रगतले जीवन बचाउने महान काम गर्ने भएकाले रक्तदानको महत्व रहेको उहाँले बताउनुभयो । कहिलेकाही आकस्मिक रुपमा रगतको माग हुँदा रगत दिन सकियो कसैको घरमा उज्यालो आउने आधार बन्ने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख मान बहादुर वि.सी.ले प्रहरीले अपराधको रोकथाम, अनुसन्धान, शान्ति सुरक्षा कायम गर्ने तथा राज्यले दिएको जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । उहाँले सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले कुनै शंकास्पद गतिविधि भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले रक्तदान कार्यक्रम जस्तो पवित्र कार्य आयोजना उहाँको भनाइ छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले सुनचाँदी व्यवसायीले व्यवसायसँगै सामाजिक कार्य पनि गर्दै आएको बताउनुभयो । उहाँले सुनचाँदी व्यवसाय संवेदनशील र जोखिमपूर्ण रहेकोले शान्ति सुरक्षा अपरिहार्य रहेको बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सदस्य प्रकाश मणि विश्वकर्माले रक्तदान जबरजस्ती गरिने दान नभएकाले रक्तदान गर्न मिल्ने स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघलाई आग्रह गर्नुभयो ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामले प्रहरी र सुनचाँदी व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहेको बताउनुभयो । उहाँले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले रक्तदान मात्र नभइ खेलकुदसँगै सामाजिक कार्य पनि गर्दै आएको बताउनुभयो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्माको स्वागत, वरिष्ठ उपाध्यक्ष प्रेम रामदामको स्वागत तथा महासचिव गणेश वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको कार्यक्रम संयोजक हितेन वि.के.ले बताउनुभयो ।
कार्यक्रममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवामा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत डोटीका सि.वी. लोहारका बुवाको उपचारका लागि संघले आर्थिक सहयोग गरेको छ । छोरालाई भेटन आउनुभएका बुवा जोगे लोहारलाई हृदयघात भएपछि उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ४२ हजार १ सय रुपैयाँ प्रदान गरिएको अध्यक्ष राजन विश्वकर्माले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij