शनिवार , मंसिर २७, २०८२
रुपन्देही । रुपन्देही जिल्लामा पछिल्लो चार महिनामा ३७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत साउनदेखि कात्तिकसम्ममा जिल्लामा ३७ जना कुष्ठरोगी भेटिएका हुन् ।
जिल्लामा अघिल्लो आर्थिक वर्षमा एक सय ७० जना नयाँ कुष्ठरोगी भेटिएको क्षयकुष्ट अधिकृत टिकाराम अधिकारीले जानकारी दिनुभयो ।
कुष्टरोग सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले नियमित रुपमा औषधी सेवन गरे रोग निको हुने भएपनि उपचारमा हेलचेक्र्याई गर्दा बरामीको संख्या बढ्ने गरेको बताउनु भयो ।
कार्यालयका अनुसार आर्थिक बर्षको अन्तसम्ममा एक सय ७८ जना बिरामी उपचारमा रहेका थिए । चार महिनामा १५ जना बिरामी उपचार पश्चात निको भएको अधिकारीले जानकारी दिनुभयो ।
द ल्याप्रोसी मिसन नेपालको सहयोगमा भएको कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक सुमन ज्ञवालीले कुष्टरोग निको हुने रोग भएको उल्लेख गर्नु भयो । कुष्ठरोगप्रतिको भ्रम र डर हटाउन परिवार र समुदायमा रोगबारे सचेतना आवश्यक रहेको बताउनुभयो ।
आर्थिक बर्ष ०८१/०८२ को अन्तसम्ममा नयाँ बिरामीमध्ये १४ बर्ष मुनिका बिरामी १ जना मात्र रहेका थिए भने ७६ जना महिला रहेका थिए । साउन देखि कार्तिकसम्ममा १७ जना महिला बिरामी थपिएका छन् । औषधि खाएर निको हुने, औषधि पनि निःशुल्क पाइने, जनशक्तिको पनि समस्या नरहेको तर पनि कुष्ठरोग निवारण हुन नसक्नुले सरोकारवालामा चिन्ता थपिएको छ ।
नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन् । स्वास्थ्य अधिकारीहरूले जनचेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण नेपालमा कुष्ठरोग निवारण हुन नसकेको बताएका छन् ।
रुपन्देहीलाई कुष्ठरोग निवारण जिल्ला बनाउन अहोरात्र खटेर समुदायमा पुगेर काम गर्दा पनि विरामीहरुले रोग लुकाउने र खुल्न नमान्दा समस्या भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमादेवी थापाले बताउनुभयो । उहाँले जनस्तरमा व्यापक प्रचारप्रसार र चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij