
मंगलवार , बैशाख १४, २०७८
काठमाडौं, १४ बैशाख।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने बल, बुद्धि र विद्याका संबाहक रामभक्त हनुमानको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
आजका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र संकटबाट मुक्ति पाइने विश्वासका साथ बिश्वभरका हनुमान मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ।
बिश्वभर महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरस सक्रमणका कारण सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी पूजा आराधना गरिने जनाइएको छ।
यस अवसरमा नेपालको काठमाडौंमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ।
प्रचलन अनुसार हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ।
हनुमान जयन्तीका अवसरमा काठमाडौंमा गरिने शोभायात्रा भने गतबर्ष जस्तै यसवर्ष पनि कोरोनाका कहरका कारण सांकेतिकरूपमा मात्र गरी विधि पूरा गरि मनाईंदै छ।
हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा दूरी कायम गरी पूजा आराधना गर्न आग्रह गरेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij