२०८२, पौष १ गते

Dec 16 2025 | २०८२, पौष १ गते

अन्तरविद्यालय क्रिकेट : न्यू होराइजन र रूपन्देही लीलाराम फाइनलमा

मंगलवार , पौष १, २०८२

  • 799
    Shares
  • 799
    Shares
  • भैरहवा, १ पुस । रुपन्देहीको भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा न्यू होराइजन स्कूल र रूपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय फाइनलमा पुगेका छन् । सोमबार भएको सेमीफाइनलमा न्यू होराइजनले लुम्बिनी शिक्षा निकेतनलाई ७ विकेट र लीलारामले होराइजन जीबीएसलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा पक्का गरेका हुन् । यी दुई टीमबीच मंगलबार (आज) उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो सेमीफाइनलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनी शिक्षा निकेतनले ४ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि अलिउद्दिन खानले ४६, जावेद खानले ३४ र आसिफ खानले नटआउट १४ रन जोडे । बलिङमा न्यु होराइजनका प्रिन्स पाल, अनिश भट्टराई र रिजन बुढाथोकीले १–१ विकेट लिए ।

    जवाफमा न्यू होराइजनले १४ ओभरमा ३ विकेट गुमाई १ सय १८ रन बनाउँदै सहजै जीत निकाल्यो । उसको जितमा प्रिन्स पालले नटआउट ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अब्राहम अलीले अविजित २४ र सफल भट्टराईले १९ रन बनाए । 

    बलिङमा लुम्बिनी शिक्षा निकेतनका बासुदेव यादवले २ र सफिउल्लाह खानले १ विकेट लिए । प्रिन्स पाल प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो सेमीफाइनलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा ८० रनको झिनो योगफल खडा गर्याे । उसका लागि प्रसन पोखरेलले २२ र सुनिल लोधले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लीलारामका फैजन खान, प्रेमसागर यादव र विक्की मल्लाहले २–२ तथा कृष्णमोहन कुर्मीले १ विकेट लिए ।

    प्रतिउत्तरमा लीलारामले १२ ओभर ५ बलमा २ विकेटको क्षतिमा ८१ रन बनाई सहजै जित दर्ज गर्याे । उसको जीतमा लक्की यादवले अविजित ३६ र आयन खानले नटआउट २३ रनको योगदान गरे । बलिङमा होराइजन जीबीएसका शिवप्रसाद यादव र सहज अर्यालले १–१ विकेट लिए । प्रेमसागर यादव प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पुरस्कृत गरिने आयोजकले जनाएका छन् । पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको प्रतियोगितामा रूपन्देहीका ३० वटा विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।