२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

न्यू होराइजनले जित्यो अन्तरविद्यालय टी–२० क्रिकेटको उपाधि

बुधवार , पौष २, २०८२

  • 841
    Shares
  • 841
    Shares
  • भैरहवा, २ पुस । रुपन्देहीको भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराइजन स्कूल, बुटवलले जितेको छ । मंगलबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा रूपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवालाई ५ रनले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो ।

    उपाधिसँगै न्यू होराइजनले नगद ५० हजार र उपविजेतामा चित्त बुझाएको लीलारामले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले ८ विकेटको क्षतिमा ९९ रन बनायो । उसका लागि प्रिन्स पालले ३१ र आरुष अधिकारीले १७ रन जोडे । बलिङमा लीलारामका विक्की मल्लाहले ३, प्रेमसागर यादवले २ तथा कृष्णमोहन कुर्मी र आयन खानले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको लीलाराम १७ ओभर २ बलमा ९४ रन जोड्दा अलआउट भयो । बलिङमा होराइजनका अमृत अर्यालले ४, रिजन बुढाथोकीले ३, श्रीयान्स ज्ञवालीले २ र आशराम अलीले १ विकेट हात पारे । लीलारामका आयन खानले ३४, अजय केवटले २१ र सुनिल यादवले १६ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । अमृत अर्याल प्लेयर अफ द फाइनल भइ पाँचसय रुपैयाँबाट पुरस्कृत भए ।

    प्रतियोगितामा न्यू होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भइ १० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै अमरज्योति स्कूलका सम्राट बराल बेष्ट बलर र लुम्बिनी शिक्षा निकेतनका बासुदेव यादव बेष्ट ब्याटर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । होराइजन जीबीएस बेष्ट अनुशासित टीम भइ पुरस्कृत भयो । पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको प्रतियोगितामा रूपन्देहीका ३० वटा विद्यालय सहभागी थिए ।

    विजेता र उपविजेता टीमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संस्थापक अध्यक्ष प्रेम  कुमार सेन्चुरी, पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, कार्यक्रम संयोजक उदय कुमार मल्लिक लगायतले पुरस्कार प्रदान गरेका थिए ।