२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

कोटहीमाई–१ मा वडाअध्यक्ष कप क्रिकेटको शुभारम्भ

बिहिवार , पौष ३, २०८२

  • 364
    Shares
  • 364
    Shares
  • भैरहवा, ३ पुुस । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा प्रथम वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। बुधबार एक कार्यक्रमकाबीच कोटहीमाई–१ स्थित दुईमोहानमा क्रिकेटले युवाको शारीरिक तन्दुरुस्ती, अनुशासन र सामाजिक एकता मजबुत बनाउने उद्देश्यसहित उक्त प्रतियोगिताको शुभारम्भ गरिएको हो ।

    वडा नम्बर १ भित्रका विभिन्न स्थानबाट सहभागतिा जनाएका १४ टोलीबीच १२ ओभरको प्रतिष्पर्धात्मक क्रिकेट खेलाइने वडाअध्यक्ष राजेश गुप्ताले जानकारी दिनुभयो । युवाहरूको चाहना र मनोभावनालाई आत्मसात गर्दै क्रिकेटले स्वास्थ्य, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वासका साथ वडाअध्यक्ष कप आयोजना गरिएको उहाँले बताउनुभयो ।

    प्रतियोगितामा प्रथम हुने टोलीलाई प्रमाणपत्र र कपसहित ३५ हजार रुपैयाँ तथा उपविजेतालाई प्रमाणपत्र र कपसहित २२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई पाँचसय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने वडाअध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

    क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मानव जीवनमा खेलकुद र पोषण जन्मदेखि जीवनकालसम्म अत्यावश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘हातखुट्टा चले मात्र मानिस स्वस्थ मानिन्छ । जुनसुकै युग र व्यवस्था आए पनि खेलकुद मानव जीवनको अपरिहार्य अंग हो । खेल फरक हुन सक्छन् । तर, जीवनमा खेलकुदको योगदान सधैं आवश्यक रहन्छ ।’

    पहिले चिक्का, कबड्डी, बैजल्ला, डुडुवा जस्ता खेल लोकप्रिय रहे पनि अहिले क्रिकेट सबैभन्दा लोकप्रिय बनेको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले युवाको चासो र मागअनुसार क्रिकेट विश्वव्यापी रूपमा फैलिएको बताउनुभयो । खेलले मनोरञ्जनसँगै शारीरिक व्यायाम गराई युवामा एकता, स्वास्थ्य र स्फूर्तता बढाउने उहाँको भनाइ थियो ।

    ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा बोल्दै कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले क्रिकेटमार्फत मर्चवार क्षेत्रले उच्च प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले युवाभित्र लुकेर रहेको खेलकुद प्रतिभालाई उजागर गरी मर्चवारको पहिचान स्थापित गर्न र देशको नाम चम्काउने उद्देश्यले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । मर्चवारका हरेक वडा र पालिकामा यस्ता क्रिकेट प्रतियोगिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा प्रकोप व्यवस्थापन सञ्जालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, कोटहीमाई गाउँपालिकाका कम्प्युटर अपरेटर सनोज चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख अजय सिंह क्षेत्रीले गर्नुभएको थियो ।