२०८२, पौष ५ गते

Dec 20 2025 | २०८२, पौष ५ गते

विश्व ध्यान दिवस : रुपन्देहीमा सामूहिक ध्यान कार्यक्रम हुँदै

शनिवार , पौष ५, २०८२

  • 367
    Shares
  • 367
    Shares
  • भैरहवा, ५ पुस । विश्व ध्यान दिवसको अवसरमा द आर्ट अफ लिभिङ्ग आश्रम भैरहवाको आयोजनामा रुपन्देहीमा सामूहिक ध्यान कार्यक्रम गरिँदैछ । 

    सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा हुने उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका, स्थानीय, उद्योगी–व्यवसायी तथा सर्वसाधारण गरी एकहजार जनाको सहभागीता रहने कार्यक्रम संयोजक दिपेन्द्र प्रधानले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम पुस ६ गते आइतबार (डिसेम्बर २१ तरिख) बिहान १० बजेदेखि ११ बजेसम्म (एक घण्टा) हुनेछ । कार्यक्रममा भारतको बैंग्लोरबाट आउने स्वामी देवदत्त बह्माचार्यले र यस क्षेत्रका आर्ट अफ लिभिङका प्रशिक्षकले ध्यान गराउनुहुनेछ ।
     
    शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्नुहुने जनाएका छन् ।

    त्यस्तै आइतबार नै सोही प्रकृतिको कार्यक्रम कञ्चन गाउँपालिका–४ स्थित दियो खेलमैदानमा दिउँसो १ बजेदेखि हुनेछ । त्यहाँ त्यस क्षेत्रका सम्पूर्ण विद्यालयका कक्षा ८ देखि माथिका विद्यार्थी, क्याम्पसका विद्यार्थी, अभिभावक गरी १० हजार बढीको सहभागीता रहने कार्यक्रम संयोजक चुुडामणि पौडेलले जानकारी दिनुभयो । यस कार्यक्रमको आयोजकको रुपमा कञ्चन गाउँपालिका छ भने संयोजन द आर्ट अफ लिभिङ नेपाल कञ्चन गाउँपालिकाले गर्नेछ ।
     
    वर्तमान समयमा युवाहरुमा भविष्यप्रतिको बढ्दो नैराश्यता एवं नकारात्मक सोचलाई सकारात्मकतातर्फ अगाडी बढाउन ध्यान नै सशक्त माध्यम हुनेछ भन्ने अभिप्रायले ‘वैश्विक शान्ति र सद्भावका लागि ध्यान’ भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको प्रशिक्षक मंगल भण्डारीले बताउनुभयो । नेपाल ध्यान तथा अध्यात्मको उद्गमस्थल भएको उहाँको भनाइ छ ।
     
    वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले योग र ध्यानको माध्यमबाट जीवन खुसी बनाउन र सकारात्मक सोचको विकास गर्न सकिने बताउनुभयो ।
     
    द आर्ट अफ लिभिङ्ग फाउण्डेशन सन् १९८१ मा गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापित एक अन्तर्राट्रिय गैरनाफामुलक संस्था भएको र यसको उद्देश्य व्यक्तिगत शान्ति र सामाजिक सद्भाव स्थापना गर्नु रहेको कार्यक्रम संयोजक दिपेन्द्र प्रधानले बताउनुभयो । उहाँका अनुसार यो संस्था हाल विश्वभर १८० भन्दा बढी देशहरुमा सक्रिय छ र योग, ध्यान तथा श्वासप्रश्वासका प्रविधिहरुमार्फत मानिसलाई तनावमुक्त र सकारात्मक जीवनशैलीतर्फ उन्मुुख गराउँदै आएको छ ।
     
    ‘यसको प्रमुख अभ्यास सुदर्शन क्रिया हो, जसले मानसिक शान्ति, शारीरिक सन्तुलन र आध्यात्मिक उन्नति दिलाउने गर्छ । ‘बसुधैब कुटुम्बकम्’ भन्ने दर्शनमा आधारित यो संस्थाले व्यक्तिगत विकासलाई सामाजिक परिवर्तनको माध्यम ठान्छ । गुरुदेव श्री श्री रविशंकरले धार्मिक सहिष्णुता, विश्व शान्ति र मानवता प्रवद्र्धनको लागि उल्लेखनीय योगदान दिनुुभएको छ, ’प्रधानले भन्नुभयो।
     
    द आर्ट अफ लिभिङ्ग फाउण्डेशन विश्वभर करोडौं मानिसलाई जीवनमा सकारात्मक दृष्टिकोण, आन्तरिक शान्ति र सेवा भावना जागृत गराउन प्रेरित गरिरहेको उहाँको भनाइ छ ।
     
    ६ डिसेम्बर २०२४ मा रविशंकरको विशेष पहलमा नेपाल, भारतलगायत विभिन्न राष्ट्रप्रमुखहरुले ध्यानलाई विश्वव्यापी कल्याण र शान्तिको उपकरणको रुपमा प्रस्तुत गर्दै एक उत्सवको रुपमा मनाउन उपयुक्त हुने भनी गरेको प्रस्तावलाई १९२ राष्ट्रका राष्ट्रप्रमुखद्वारा समर्थन गरी संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मत अनुमोदन गरेको उहाँले बताउनुभयो ।
     
    २१ डिसेम्बर २०२४ मा भएको प्रथम विश्व ध्यान दिवसको उद्घाटन सत्रमा गुरुदेव श्रीश्री रविशंकरको नेतृत्वमा संयुक्त राष्ट्र संघको मुख्यालयमा १८० देशका ८५ लाख भन्दा बढी सहभागीसँग एकै समयमा ध्यान गराइ गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित भएको थियो । ...