२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

काशीद्वारा क्रिकेट प्रशिक्षक थापा र खेलाडी अलीलाई सम्मान

आइतवार , पौष ६, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित काशी नोबल एकेडेमीले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विद्यालयबाट उपाधि विजेता समूह लुम्बिनी लायन्समा सहभागी प्रशिक्षक एवं खेलाडी सम्मान कार्यक्रम गरेको छ । 

    लामो समयदेखि विद्यालयमा क्रिकेट प्रशिक्षकको रुपमा कार्यरत अन्तिम थापाले एनपीएलमा लुम्बिनी लायन्समा फिल्डिङ प्रशिक्षकको रुपमा आबद्ध भएर उक्त टीमलाई प्रशिक्षण दिइ उपाधि प्रतिष्पर्धामा प्रथम स्थान ल्याउन सफल गराएको भन्दै शुक्रबार सम्मान गरिएको हो ।

    त्यस्तै काशीमा कक्षा ११ मा अध्ययनरत समीर अलीले मिहिनेत र लगनशीलताका साथ लुम्बिनी लायन्सलाई उपाधि प्रतिष्पर्धामा प्रथम स्थान ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो ।

    प्रशिक्षक थापा र खेलाडी अलीले आफ्नो समूह, विद्यालय र यस क्षेत्रकै गौरव बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयले दुवैजनालाई जनही १० हजार १ सय ५ रुपैयाँ प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेको हो । साथै अलीलाई कक्षा ११ र १२ मा लाग्ने १ लाख २७ हजार ६ सय रुपैयाँ छुट दिइ (निःशुल्क पठनपाठन) को व्यवस्था गरिएको विद्यालयका सह–प्राचार्य श्री रायमाझीले बताउनुभयो ।

    kkk.jpg

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुदमार्फत पर्यटन क्षेत्रको पनि विकास हुने बताउनुभयो । उहाँले खेलाडीले नेपाललाई विश्वमै चिनाउन सफल भएको बताउनुभयो । ‘खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ, ’उहाँले भन्नुभयो-‘काशी नोबल एकेडेमीले शिक्षासँगै खेलकुदमा पनि लगानी गरेको छ ।’ 

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले राम्रो खेलाडी उत्पादन गर्ने काशी नोबल एकेडेमीको प्रयास सराहनीय रहेको बताउनुभयो । उहाँले सानो लगानीले पनि प्रतिफल दिने बताउनुभयो । खेलाडीमा अनुशासन आवश्यक रहेको उहाँको भनाइ छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले काशीले खेलाडीलाई प्रोत्साहन गरेको बताउनुभयो । उहाँले खेलाडीलाई अगाडि बढाउन निजी क्षेत्र सहयोग गर्न तयार रहेको बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले आगामी दिनमा पनि विद्यालयले प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले काशीले क्रिकेट खेललाई अतिरिक्त क्रियाकलापको रुपमा अगाडि बढाउनु आफैमा महत्वपूर्ण कदम भएको बताउनुभयो ।

    विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले काशी नोबल एकेडेमीले शैक्षिकसँगै खेलकुद क्षेत्रमा पनि उल्लेखनीय प्रगति गरेको बताउनुभयो । उहाँले विद्यालयले थुप्रै प्रगति हासिल गरेको बताउनुभयो ।

    क्रिकेट प्रशिक्षक अन्तिम थापाले काशी नोबल एकेडेमीले खेलकुद क्षेत्रमा पनि उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष टोप बहादुर रायमाझीको अध्यक्षता, प्राचार्य राजेन्द्र घिमिरेको स्वागत तथा सह-प्राचार्य श्री रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।