२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

१८ जना ज्येष्ठ नागरिक सम्मानित

बिहिवार , पौष १०, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, १० पुस । कमलापति–गंगादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रतिष्ठानको आठौं वार्षिकोत्सवको अवसरमा बुधबार ८० वर्ष पूरा भएका र सो भन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

    कार्यक्रममा ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान प्रमुख हरि प्रसाद अधिकारीले बताउनुभयो ।

    प्रतिष्ठानका महासचिव गोविन्द राज अधिकारीले संस्थाले आफ्नो स्थापनाकालदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताउनुभयो । यसले ज्येष्ठ नागरिकमा उर्जा थपेको अनुभुति भएको उहाँले बताउनुभयो । महासचिव अधिकारीका अनुसार संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गदै आइरहेको छ । संस्थाको मूल उद्देश्य परोपकार गर्नु रहेको उहाँले बताउनुभयो ।

    ‘शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गर्नुभएका र सामाजिक सेवामा उल्लेखनीय योगदान गर्नुभएका प्रतिभाहरु तथा समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने उद्देश्यका साथ प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा असी बसन्त पार गरिसक्नुभएका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार, संरक्षक तथा अध्यक्ष भागवत भाष्कर कमल नयन गौतमले संस्था जन्मेपछि त्यसलाई मलजल गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले संस्थाले फराकिलो दायरामा रहेर काम गरेको भन्दै प्रशंसा गर्नुभयो । गौतमले आगामी दिनमा पनि मुलुकको नमूना संस्थाको रुपमा स्थापित हुँदै उदाहरणीय कार्य गर्न सकोस् भन्दै शुभकामना दिनुभयो । 

    प्रतिष्ठानका अध्यक्ष कलाधर पन्थले संस्थालाई निरन्तर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सकेसम्म दिनदुःखीको घरमै पुगेर सहयोग गर्ने प्रतिष्ठानको सोच रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाको प्रमुख शान्ति सुवेदी, भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली लगायतले बोल्नुभएको थियो ।

    प्रतिष्ठानको उपाध्यक्ष गंगा पन्थको स्वागत तथा महासचिव गोविन्द राज अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    kkknnn.jpg

    शिक्षा तथा स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यका साथ मातापिताको स्मृतिमा कलाधर पन्थ र गंगा पन्थले कमलापति–गंगादेवी पन्थ स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको हो ।