२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

मेरो प्रयास सधैं जनताको भलाइका लागि हुनेछ : कल्पना पाण्डे

शनिवार , पौष १२, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक उम्मेदवारको आकांक्षी कल्पना पाण्डेले आफ्नो प्रयास सधैं जनताको भलाइका लागि हुने बताउनुभएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीबाट समानुपातिक (खस आर्य) तर्फ उम्मेदवारको आकांक्षी पाण्डेले आफूलाई प्राइमेरी इलेक्सनमा मतदान गर्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।

    मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा शिक्षा तथा सामाजिक विकास र उद्योग, वन तथा वातावरण मन्त्रीको समेत जिम्मेवारी सम्हालिसक्नुभएकी पूर्वमन्त्री पाण्डेले महिला र युवाको आवाजलाई संसदसम्म पुर्याउने दृढ उद्देश्य रहेको बताउनुभयो । ‘यसका लागि म जनतासँग निकट भएर काम गर्दै आएको छु । मेरो अनुभवले नीति र निर्णयलाई व्यवहारिक बनाउँदै जनमानसमा सञ्चार गर्न सक्षम बनाउँछ । म स्पष्ट, सरल र जिम्मेवार ढंगले संवाद गर्न ठूलो ध्यान दिन्छु, ’उहाँले भन्नुभयो ।

    पाण्डेले परिवर्तनमुखी राजनीतिको विचारधारामा दृढ विश्वास गर्दै, सुशासन र जवाफदेहीतालाई व्यवहारिक रूपमै उतार्ने हेतुले सक्रिय राजनीतिमा संलग्न भएको बताउनुभयो ।‘मेरो संगठनात्मक गतिविधिहरूमा निरंतरता र इमानदारीले पार्टीका अभियान तथा कार्यक्रमहरूमा बोलेको भन्दा धेरै कार्यमा मेरो प्रतिबद्धता दर्शाउँछ । म नेतृत्वका लागि विश्वासयोग्य मित्रको रूपमा चिनिन चाहन्छु, जसले कामलाई प्राथमिकता दिन्छ, सार्वजनिक अभिव्यक्तिमा, मिडियामा र संगठनात्मक छलफलहरूमा पार्टीको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विशेषता हो, ’पाण्डेले भन्नुभयो ।

    सांसद् बनेर व्यक्तिगत हैसियतभन्दा नैतिकतामा आधारित पार्टीको छवि, नीति र सामूहिक निर्णयलाई प्राथमिकता दिने र परिवर्तनको मञ्चको रूपमा संसदलाई उभ्याएर पार्टीलाई गर्व गर्ने आफ्नो संकल्प रहेको बताउनुभयो । ‘देशमा व्याप्त निराशालाई चिर्नका लागि पुराना राजनीतिक दललाई बिस्थापन गर्नु पहिलो आवश्यकता बनेको र त्यही आवश्यकता पूरा गर्न लुम्बिनी प्रदेश मात्र नभइ पार्टीले खटाएको हरेक क्षेत्रमा खटिएर जनताको मन जितेर मत जित्ने प्रयासका लागि मेरो मेरो उम्मेदवारी आवश्यक ठानेकी छु, यसका लागि मतदाताले मलाई मत दिनुपर्छ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो ।

    सरकारको जिम्मेवारीमा रहदा र नरहदा पनि देश र जनताको पक्षमा निरन्तर काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । ‘सरकारमा रहदा पनि म दृढ संकल्पका साथ अघि बढे । कठिन परिस्थतिमा जनताको काम गर्न पदलाई मात्र ठूलो कुरा ठानिन, ’उहाँले भन्नुभयो । पाण्डे मुख्यमन्त्री पोखरेल नेतृत्वको क्याबिनेटमा एक मात्र महिला फूल मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मा जन्मनुभएकी पाण्डे हाल रुपन्देहीको ओमसतिया गाउँपालिका–२ को स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ १२ वर्ष शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । हाल उहाँ लुम्बिनी प्रदेशको संसद् मञ्चको सचिव समेत हुनुहुन्छ ।